फुटबलर सालाको खोजी : समुद्रमुनि, ६७ मिटर तल शव देखियो

इंग्लिस प्रिमियर लिग क्लब कार्डिफ सिटीका खेलाडी एमिलियानो साला सवार रहेको विमानको भग्नावशेषमा एकजनाको शव देखिएको छ । निजी पहलमा भएको खोजीको क्रममा गएको जनवरी २१ मा बेपत्ता भएको विमानको भग्नावशेष इंग्लिस च्यानलमा आइतबार भेटिएको हो ।
त्यसपछि समुद्रमुनि रहेको विमानको भग्नावशेषमा एउटा शव देखिएको खोजकर्ताले बताएका छन् । शवसहितको विमानको भग्नावशेष समुद्र सतहबाट ६७ मिटर तल छ । फ्रान्सको नान्टेसबाट कार्डिफका लागि उडेको सानो आकारको विमानमा अर्जेन्टिनी स्ट्राइकर सालासँगै पाइलट डेविड इबोस्ट्सन थिए । भग्नावशेषमा देखिएको शव कसको हो भन्ने खुलेको छैन। उद्धार टोलीले समुद्रमुनि रहेको विमानको भग्नावशेषसहित देखिएको शव बाहिर निकाल्ने योजना बनाइरहेको छ । शवसहितको विमानको भग्नावशेष फेला पारेका व्यक्तिका अनुसार विमान र देखिएको शवलाई तत्काल बाहिर निकाल्नु अनिवार्य छ ।

विमानको खोजकर्ता वैज्ञानिक डेविड मार्न्सले भनेका छन्, ‘सालाको परिवारले दुई हप्तासम्म नपाएका धेरै प्रश्नको उत्तर पाउने सम्भावना छ, त्यसका लागि विमानको भग्नावशेष तथा शव बाहिर निकालिनु पर्छ ।’ उनले अघि भनेका छन्, ‘जुन भयानक डर थियो त्यो पुष्टि भएको छ । सालाको परिवारलाई यो आँसुबाट बाहिर निस्कन समय लाग्ने छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार