तीन ठूला दलले पाँचथरमा उम्मेद्वार टुंग्याए, प्रतिनिधि सभामा यसपटक नयाँ अनुहार

खबिन लुइटेल ।। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथरमा तीन ठूला दलले उम्मेदवारको टुंगो लगाएका छन्।

पछिल्लो पटक नेपाली कांग्रेसका तर्फबाट नरेन्द्र कुमार केरुङले टिकट पाएसँगै रुख, सूर्य र तारा चुनाव चिह्नबाट चुनाव लड्ने तीनै जना उम्मेद्वारको टुंगो लागेको हो।

यसपटकको निर्वाचनमा मुख्य दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने स्थानीयको पूर्वानुमान छ।

गत निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी मिल्दा ४६ मतान्तरले एमालेले विजय हासिल गरेको पाँचथरमा यसपटक तीन ठूला दल एक्ला–एक्लै चुनावी मैदानमा होमिँदा चुनावी माहोल रोमाञ्चक बन्ने निश्चित छ।

पाँचथरले यसपटक प्रतिनिधि सभामा नयाँ अनुहार पाउने देखिएको छ। नेपाली कांग्रेसबाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै आउनुभएका भीष्मराज आङदेम्बे समानुपातिकतर्फ बस्नुभएको छ भने गत निर्वाचनमा निर्वाचित बसन्तकुमार नेम्वाङ बिरामी परेपछि एमाले र कांग्रेसका दोस्रो तहका नेताहरू चुनावी मैदानमा उत्रिएका हुन्।

नेपाली कम्युनिष्ट पार्टीका हर्क नेम्वाङ समयमै उम्मेदवारी टुंग्याएपछि बेलैदेखि मेहनत गरेको फल प्राप्त हुने आशामा देखिनुहुन्छ।

एमालेको बलियो संगठन र विगतको इतिहास अइन्द्र सुन्दर नेम्वाङको मेरुदण्ड देखिन्छ भने नागरिकबीच निरन्तरको उपस्थिति तथा जिल्लाको एकढिक्का कांग्रेस नरेन्द्र कुमार केरुङका जितका आधार बन्न सक्छन्।

पाँचथरे नागरिकले सुख–दुःखमा यी तीनै अनुहारलाई पटक–पटक भेटेका छन्। नेकपा एमालेका केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज रहेका अइन्द्र, साविक माओवादीका कोशी प्रदेश अध्यक्ष रहेका हर्क र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पाँचथर जिल्लाका दुई पटकसम्म सभापति भइसकेका नरेन्द्र जिल्लावासीका लागि नयाँ नाम होइनन्।

अन्य दलहरूको उपस्थिति र अभियान व्यापक रहे पनि मतदाताले यी तीनमध्ये एकलाई नै छनोट गर्ने ती दलका कार्यकर्ताहरूको दावी छ। शहरी भेगमा जस्तो यहाँका नागरिकको मत नयाँ र वैकल्पिकतर्फ त्यति धेरै नजाने उनीहरूको तर्क छ।

“पुरानालाई चुनौती छ, नयाँले मत ल्याउँछन्। तर जित्न पर्याप्त मत ल्याउँदैनन्,” नेपाली कम्युनिष्ट पार्टीका एक नेताले ‘नयाँ कुरो’ लाई बताए।

हर्क साम्पाङ फिदिममा उपस्थित भएको कार्यक्रमको माहोल, राष्ट्रिय स्वतन्त्र पार्टीप्रति नागरिकले देखाइरहेको क्रेज र परिवर्तन पार्टीले गरिरहेको संगठन विस्तारले पाँचथरमा यसपटक कस्तो प्रभाव पार्ला भन्ने विषय चासोको केन्द्र बनेको छ।

परिवर्तन पार्टीबाट माटो चुनाव चिह्न लिएर उठ्ने उम्मेदवार ब्रबिम शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र विक्रम थाम्सुहाङ तथा बाँसुरी चुनाव चिह्न भएको राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवारले प्राप्त गर्ने मतलाई लिएर समेत सर्वसाधारणमा उत्साह र कौतुहलता देख्न पाइन्छ।

जिल्लामा १५ दल क्रियाशील रहेका छन्। कतिजनाको उम्मेदवारी पर्ने हो भन्ने विषयमा माघ ६ गतेसम्म कुर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार