नयाँ कुरो समाचार ।। नेपाली कांग्रेसले समानुपातिक तर्फको सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
पार्टीका प्रबक्ता प्रकाश शरण महतका अनुसार १ सय १० जनाको बन्द सूचीमा रहेको नाम आयोग समक्ष बुझाउन लागिएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समिति बैठकले नामहरुको विषयमा टुंगो लगाइसकेको र केही प्राविधिक काम मात्र बाँकी रहेको कांग्रेस श्रोतले जानकारी दियो ।
फाल्गुण २१ को निर्वाचन कार्यतालिका बमोजिम आज सम्ममा दलहरुले समानुपातिकको बन्द सूची आयोग समक्ष बुझाइ सक्नु पर्ने छ।
नेपाली कांग्रेसका पदाधिकारीहरुमध्ये सहमहामन्त्री भीष्मराज आङदेम्बेको नाम मात्र समानुपातिकको वन्द सूचीमा राखिएको नेपाली कांग्रेसका प्रवक्ता महतले जानकारी दिनुभयो ।
नयाँ कुरो संग कुरा गर्दै आङ्देम्बेले आफू अघिल्लो चुनावकै बेला पुन प्रत्यक्षमा नउठ्ने घोषणा गरिसकेको भन्दै त्यसको इमान्दारी पूर्वक कार्यान्वायन गरेको संक्षिप्त प्रतिकृया दिनभयो ।
सहमहामन्त्री आङदेम्बेलाइ पाँचथर जिल्ला कार्यसमितिले प्रत्यक्ष तर्फको उम्मेद्वारको रुपमा समेत शिफारिस गरेको छ ।
कांग्रेसले यो पल्ट नयाँ र पार्टीमा जिम्मेवारीमा नरहेका तर काम गरिरहेकाहरुलाइ समानुपातिकमा अवसर दिएको जनाएको छ ।






















