ज्योति भण्डारी पाँचथर ।। अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) ले सञ्चालन गर्दै आएको राजनीतिक खबरदारी अभियान अन्तर्गत पाँचथर जिल्लाको फिदिममा हस्ताक्षर अभियान कार्यक्रम सम्पन्न भएको छ।
महिला अधिकारको सुनिश्चितता र राजनीतिक नेतृत्वमा महिलाको सशक्त सहभागिता माग गर्दै आयोजना गरिएको कार्यक्रम शनिवार सम्पन्न भएको हो।
देशव्यापी रूपमा सञ्चालन भइरहेको महिला अधिकारका लागि राष्ट्रिय अभियान अन्तर्गत अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) ले समिति गठन गर्दै “८४ मा महिला, हुनुपर्छ पहिला” भन्ने नारासहित ऐक्यबद्धता हस्ताक्षर अभियान सञ्चालन गरेको हो।
कार्यक्रममा स्थानीय महिला दिदीबहिनीहरूको उल्लेखनीय तथा सक्रिय सहभागिता रहेकाे थियो। महिलाहरूले आगामी निर्वाचनमा महिलाको नेतृत्व प्राथमिकतामा राख्नुपर्ने विषयमा साझा आवाज उठाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने रहनुभएको थियो। उहाँले महिलाको राजनीतिक सहभागिता लोकतन्त्रको मजबुतीका लागि अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रमको अध्यक्षता संयुक्त महिला सञ्जाल पाँचथरकी अध्यक्ष सविता रावतले गर्नुभएको थियो।
अभियानले महिलामैत्री राजनीति, समावेशी नेतृत्व र अधिकार सुनिश्चितताका लागि दबाब सिर्जना गर्ने आयोजकले अपेक्षा लिएको जनाएको छ।
यसै बिच अन्तरपुस्ता महिलावादी मञ्च (IGFF) पाँचथरको नयाँ कार्यसमिति चयन भएको छ । IGFF कार्यक्रम संयोक बिन्दा ठटाल तथा केन्द्रीय सदस्य कल्पना घिमिरे को उपस्थितिमा नवगठित समितिको अध्यक्षमा – सानु थापामगर , उपाध्यक्षमा – दुर्गा ओझा , सचिव – मिना रिजाल केरुङ , कोषाध्यक्ष – सरिता भण्डारी अधिकारी, सदस्यहरुमा – ज्योति प्रभा भण्डारी , मुना आमगाइ, आसा तुम्वापो , सबिता रावत , धनकुमारी बुढाथोकी , जमुना लकान्द्री र डिल्लीमाया दाहाल रहनुभएको छ ।






















