नयाँ कुरो समाचार ।।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले स्थानीय तहमा सञ्चारको विकास विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा आयोजित कार्यक्रममा जिल्लाका १ दर्जन बढी सञ्चारकर्मी, कुम्मायक गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाको बर्तमान कार्यसमिति निर्वाचित भएको १ बर्ष पुरा गरेको अवसरमा कुम्मायक माङ्हिम परिसरमा पत्रकार महासंघ पाँचथर शाखाले आफ्नो घुम्ती वैठक समेत सम्पन्न गरेको छ ।
उक्त वैठकमा शाखा पदाधिकारी सहित पूर्व पदाधिकारीहरु तथा पेशागत संग संगठनका पदाधिकारीको उपस्थिती रहेको थियो ।
बैठकमा सहभागी आमन्त्रितहरुले महासंघले १ बर्षमा सम्पन्न गरेका कृयाकलाप र आगामी दिनमा गर्नु पर्ने गतिविधीको विषयमा सल्लाह सुझाव दिएका थिए ।
गाउँपालिकाको सेवा केन्द्रमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय तहमा सञ्चार नीति निर्माण तथा कार्यान्वयन, पत्रकार सुरक्षा, नयाँ पत्रकारको संरक्षण, लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण र सञ्चारमाध्यमको दिगो विकासका विषयमा छलफल भएको थियो ।
महासंघका पाँचथर अध्यक्ष भीमकुमार बाँस्कोटाका अनुसार स्थानीय तहको सहयोगमा आयोजना हुने कार्यक्रम सोही स्थानमा पुगेर गर्दा प्रभावकारी हुने भएकोले कुम्मायकमा कार्यक्रम आयोजना गरिएको हो । यस्ता कार्यक्रमले जनप्रतिनिधी र पत्रकार विचको समन्वय र सहकार्यलाइ अझ प्रगाढ बनाउने विश्वास महासंघले लिएको छ ।
कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावतीले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थानमा सञ्चारसम्बन्धी कार्यक्रम आयोजना हुनु सकारात्मक पहल भएको बताउनुभयो ।
यसले स्थानीय विकास र सुशासनमा सञ्चार क्षेत्रको भूमिका अझ प्रभावकारी बनाउने उहाँको भनाइ छ।
कुम्मायक गाउँपालिकाले सञ्चार नीतिको कार्यान्वयन प्रक्रिया अघि बढाइसकेको छ । नीति लागू भएपछि जिल्लाका सबै सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन न्यायोचित रूपमा वितरण हुने अपेक्षा गरिएको छ।
अन्तरक्रियापछि महासंघ पाँचथर शाखाले ७ बुदे घोषणा पत्र जारी गर्दै स्थानीय तहमा सञ्चार नीति कार्यान्वयन, पत्रकारमैत्री वातावरण निर्माण र पत्रकारको क्षमता अभिवृद्धिमा स्थानीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरेको छ।
यासोक घोषणा पत्रको पूर्ण पाठ हेर्नुहोस ।























