नयाँ कुरो समाचार ।। श्रम संस्कृती पार्टिका उपाध्यक्ष राज कुमार तामाङ लामालाइ पक्राउ गरी पाँचथर ल्याइदैछ ।
विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामालाई मंगलबार काठमाण्डौमा पक्राउ गरिएको थियो ।
२०६८ मा काठमाडौँको बबरमहलमा भएको बम विस्फोटमा संलग्न मुद्दामा जेलबाट छुटेका लामा अहिले पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका हुन् ।
पाँचथरमा दर्ता भएको मुद्दामा उनी फरार देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
२०६९ असारमा पाँचथरको भुसपातेमा उनलाई प्रहरीले विस्फोटक पदार्थ सहित पक्राउ गरेर काठमाडौँ पठाएको थियो ।
बबरमहलमा ३ जनाको मृत्यु हुने गरी भएको विस्फोटको घटनामा त्यसबेला फरार रहेका लामालाई प्रहरीले अनुसन्धान गरेर अभियोजन गरेको थियो ।
बबरमहल घटनामा कैद सजायको फैसला भएपछि नख्खु कारागारमा सजाय भुक्तान गरेर लामा २०७६ फागुन ७ मा प्रजातन्त्र दिवसको दिन छुटेका थिए ।
उनी विरुद्ध पाँचथरमा दर्ता भएको मुद्दा विचाराधीन अवस्थामा रहेको छ । उनलाई सीआईबीले थप अनुसन्धानको लागि पाँचथर पठाएको हो ।
पाँचथरमा दर्ता रहेको मुद्धा को थप अनुसन्धानको लागि उनलाइ जिल्ला ल्याइदै गरेको पाँचथर प्रहरी प्रमुख अनिश कुमार कर्णले जानकारी दिए ।






















