
काठमाडौँ ।। जारी युरोकप फुटबल अन्तर्गत आज दुई वटा खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ’ए’ को दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ । इटाली र वेल्सबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्ने योनामा रहेको छ ।
इटालीले २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३–० गोल अन्तरले नै हराएको थियो ।
वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्ने योजनामा छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीच खेल हुनेछ । उक्त खेल पनि राति ९ः४५ बजे सुरु हुनेछ । खेलमा स्वीजरल्याण्ड पहिलो जितको खोजीमा हुनेछ । यस्तै जित निकाल्दै स्वीजरल्याण्ड नकआउट चरणको ढोका खेल्न चाहन्छ । स्वीजरल्याण्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो । टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन । पहिलो खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो ।
यसअघि गएराति भएका खेलमा साविक विजेता पोर्चुगलमाथि जर्मनीले सानदार जित निकालेको छ । जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
जर्मनीलाई जित दिलाउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक–एक गोल गरे । जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो । पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरेका थिए । यस्तै पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो र डिएगो जोटाले एक–एक गोल फर्काएका थिए ।
यसैगरी हिजो राति भएको अर्को खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको हो । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले बनाएको थियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा फर्काए । उनले खेलको ६६ औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको छ । सेभियामा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्नु परेको हो ।
खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए ।