‘इन्जिनिएर सापलाई आज तिते करेलीको अचार र लौकाको तरकारी’ भातको कुकरमा सिटी लगाउन समेत अल्छी लाग्ने मलाई अचार–तरकालीको स्वाद चखाउने ऊ नै त हो । आहा, कस्तो मिठो पकाउँछे घरबेटीकी छोरीले ।

अचार र तरकालीको कचौरा थोत्रो टेबुलमा राखेपछि मेरा आँखै अगाडि उसले मुख कुचुक्क पार्दै हात नचाई । सेतो दाद आएछ । मैले उसको दाहिने हात आफ्ना हातमा राखेर सान्त्वना दिएँ, ‘पिर नगर, बेलुका धुरी कटाएर अगुल्टामा लुतो फालेपछि चट्ट हुन्छ ।’

‘हरिया चुरा देखाको पागल’, ऊ ठसक्क परेर कम्मर मर्काउँदै माथिल्लो तला उक्ली । ऊ ठसक्क पर्दा र मसक्क पर्दा म नहेरी बस्न सक्दिनँ । हेरिरहें । उसले पकाउने तरकारी जस्तै स्वादिली छे ऊ ।
बेरोजगार इञ्जिनियर बन्नु पनि निकै गाह्रो हुँदो रहेछ । सबैलाई आशा छ, आफूलाई भरोसा छैन ।

भरोसा त आफ्नोभन्दा पनि घरबेटीकी छोरीको छ मलाई । कयौं पटक त मेरो कोठा भाडा समेत उसैले तिरिदिएकी छे, आफ्नै हिटलर बाउलाई । मैले दिएको भनेर । तनाब भो । घरबेटीकी छोरीलाई बिहेको लागि हेर्न केटाहरू आएको आयै छन् । यस्तो बेरोजगारीमा उसकै घरभित्र उसैलाई कसरी भित्र्याऊँ ?

आज धुरी कटाउने अगुल्टोसँगै मनभित्र राँकिएर खरानी पर्न आँटेका उसका यादहरू पनि कटाउँछु सायद । नाइँ, उसले मलाई यस्तो कठोर बन्न सिकाएकै छैन । म डेरा सर्दैछु ।
घरबेटी बुढोले सानो स्वरमा अमेरिका र अष्ट्रेलिया भनेको सुन्दैछु । उसको मनले चाहिं डेरा सर्ने नसोचोस् प्रभू !
प्रकाश गिरी (लघु कथा)
मझेरी डटकमबाट