कात्रो,खल्ति र आर्थिक घोटला

भ्रष्टाचार व्यक्ति, समाज र राज्यको सोचमा भर पर्दछ । हामी कहाँ यो मर्यादित र सम्मानित हुनुको अर्थ पनि यही सोच हो र यहाँको कानुनी व्यवस्था पनि यही सोचद्वारा निर्देशित छ ।

अंग्रेजी शब्द Corruption का अनेकौं पर्यायवाची शब्द छन । ती मध्ये बढी dishonesty, bribery, fraud, vice आदी प्रचलित छन । ती सबैको नेपाली अर्थ भ्रष्टाचार हो । ओहोदामा बस्ने व्यक्तिले कानुन मिचेर गर्ने जुनसुकै काम, चाहे त्यस वापत आर्थिक लाभ होस वा नहोस त्यो भ्रष्टाचार हो ।

जन्म देखि मृत्यु सम्म नै मानिसहरु भ्रष्टाचार मै लतपतिने भएकाले यसको अन्त हुन नसक्ने र न्युनिकरण मात्र हुनसक्ने घुमाउरो तर्क गर्ने गर्छन दिग्गजहरु । आफना छोराछोरीहरुलाई पढाउनुपर्छ भन्नेबारे अभिभावकहरु एकमत भए पनि छोराछोरीलाई पढाउनु लेखाउनुको तात्पर्य दाम, नाम वा काममध्ये के हो भन्नेबारे सबैको मतमा एकता नहुन सक्दछ ।

किनभने बहुसंख्यक अभिभावकहरु छोराछोरीलाई दाम कमाउने साधन ठान्दछन र उनीहरुलाई कुन क्षेत्रमा लगाउँदा दाम कमाउन सकिन्छ भन्ने मै उनिहरु समय वर्वाद गर्दछन । तर कुनै क्षेत्र पनि राम्रा हुँदैनन किनकी दिलोज्यानले लाग्दा सबै राम्रा छन, सबैमा सफलता छ ।

दाम र नाम प्रति मानिसको आर्कषण नै भ्रष्टाचारको जड हो । सुन्दा भ्रष्टाचार अरुचिकर वा अस्वस्थकर जस्तो लागे पनि यो प्रति मानिसको प्रगाढ विश्वास छ ।

भ्रष्टाचारसँगै खेल्ने, भ्रष्टाचारीसंगै रमाउने हुँदा मान्छेको पुरै जिवन यसमा समर्पित छ । सायद अब यो शब्द अमर्यादित र अप्रिय पनि रहेन, जति कि हुनुपर्दथ्यो । लेनदेनका हिसाबले पात्रहरु असार मसान्तलाई पर्व जस्तै ठान्दछन ।

यो सिद्धिए लगतै साउनको रमाईलो रिमझिम वर्षा सुरु हुन्छ त्यसपछि दाम कुम्ल्याउन भ्याउनेहरु मध्ये कोही बोलबमतिर लाग्दछन भने कोहि असारमा लुँडयाएको अपच खान्की पचाउन साउन बार्ने गर्दछन ।

जतिबेला लाटागाँडाहरु आफनो सुसेधन्दामा मस्त हुन्छन, ठिक त्यति बेला यो देशको एउटा ठुलो जमात दाम चप्काउने तानावानामा लाग्दछन र कसैले पतो नपाउने गरी दाम चप्काउँछन ।

त्यसो त दाम सबैलाई चाहिएको छ । दाम नचाहने, नचाहिने कोही हुँदैन र दाम बढि पनि कसैलाई हुँदैन । सारा दुनियाँ एकातिर अनि दाम अर्कोतिर राखियो भने पल्लाभारी दाम कै हुन्छ । दाम विनाको दुनियाँ र दाम विनाको जिवन कल्पनै गर्न मिल्दैन ।

दाम नचाहने, दाम चप्काउने कला, पौरख नजान्ने, नेता, मन्त्री वा हाकिमलाई तेल लगाउन नजान्ने पात्र सर्वत्र निन्दित हुन्छ । चाहे घरभित्र होस चाहे बाहिर । दाम छ त घर छ, परिवार छ, साथिसंगी, कुटुम्ब छन नत्र कोही छैन । दाम छ सबै छ, सबै छन । छैन त कोही छैन, केही पनि छैन ।

कात्रोमा खल्ति नहुने हुँदा मर्दाखेरी आजसम्म कसैले केही लगेका छैनन । तर दाम विना दुनियाँदारी त चल्दैन । दुनियाँदारी निभाउन कै लागि भए पनि मानिसहरु दामका पछाडि यसरी लाग्दछन, जसरी हडडीका पछाडी कुकुरहरु । आज यो सिलसिला त यसरी चल्दैछ कि मानौं मानिसहरु कात्रोमा खल्ती राखेर मृत्यु पर्यन्त पनि दाम कुम्लाएर जाने तरखरमा छन ।

दामको मुख्य स्रोत राजनीति हो जुन नेताज्यूहरु वा मन्त्रीज्यूहरुको खल्तिमा हुन्छ । भगवान कै पालामा पनि दाम कुम्ल्याउने कला सिकाएको हुँदा त्यसलाई लाज, शरम, ईमान, धर्म सबै विर्सेर ईन्द्ररुपी नेताज्यू, मन्त्रीज्यू या हाकिमको झुटा तारिफ गरेर होस, जुत्ताको तलुवा चाटेर होस मनग्गे दाम कुम्ल्याउन सकिन्छ ।

छोराछोरीहरु महंगा कलेजहरुमा पढने रहर गर्छन, श्रीमतीज्यू जापानी सारीमा वेरिएर छडके तिलहरी भिरेर सङगीहरुको मेख मार्न चाहन्छन वा छोरो बाईकमा गर्लफ्रेन्डसँग डेटिङमा जान चाहन्छ वा आफु स्वयं पनि यो लोक बाहेक उ लोकमा समेत कब्जा जमाउन चाहनुहुन्छ भने कुम्ल्याईको दामको दशौंद मठ मन्दिर, अनाथालय वा वृद्धाश्रमहरुमा दिनुहोस र कमाउनुहोस पुन्य अनि जमाउनुहोस ।

कब्जा परलोक माथि पनि र हुनुहोस अमर तर कुण्ठिएर किमार्थ नबस्नुस कदाचित, बेश्यालाई पोष्ने तपाईको त्यो दामले वृद्धाश्रमकी एउटी असहाय वृद्धा मात्र खुशी भई भने मान्नुस कि यहाँको वैतरणि नै भयो ।

रात्रीकालमा सोमपान गर्ने हाम्रा आदरणिय नेताजीहरु, मन्त्री–मन्त्राणीज्यरुहरुको कृपाबाट सुरा–सुन्दरीले लठीएका बखत मनोवाञ्छित माग राख्न सकिन्छ कि जागीर, ठेक्का पटा, सरुवा, बढुवा आदि आदि । केही सिप नलागे जिल्लाको कुनै जनवर्गीय संगठनकै कुनै पद भए पनि माग्नुहोस र देखाउनुहोस जिल्ला जिल्लामा दादागिरी । रात्रिकालमा सोमपान गर्ने हाम्रा आराध्यदेवहरु दयालु भएकाले जे जे मागिन्छ, त्यो त्यो प्राप्त हुन्छ ।

दाम विना काम, काम विना माम र माम विना जीवन सम्भव छैन । तर दाम, काम र माम यति पनि होईन कि त्यसले घोटालाको रुप लेओस, भ्रष्टाचार कहलाओस । किनकि भ्रष्टाचारको अर्थ आर्थिक आतङवाद हो जसले देशको विकासमा कम र व्यक्तिको विकासमा जोड दिन्छ र समग्र पद्धति नै पक्षघातको शिकार बन्दछ ।

भ्रष्टाचार व्यक्ति, समाज र राज्यको सोंचमा भर पर्दछ । हामि कहाँ यो मर्यादित र सम्मानित हुनुको अर्थ पनि यही सोंच हो र यहाँको कानुनी व्यवस्था पनि यही सोंचद्धारा निर्देशित छ ।

टाउको लुकाउने छाप्रोदेखि खोस्रि खाने जमीन नहुनेहरुको यो देश र देशका भ्रष्टाचारीहरुलाई पदमुक्त नगरी, कठोर कारावास नतोकी, करोडौंको झिटीकै आधारमा उन्मुक्ति दिईनु यसको दृष्टान्त हो अनि विडम्बना हो ।

हामि कहाँ ७० % मानिसहरुलाई छाडी भ्रष्टाचार आज सर्वत्र निन्दित र अमर्यादित छ । आर्थिक घोटाला ३० % मानिसहरुका लागि सामान्य कुरा भए पनि चामलको भात र सिटामोल नदेखेका ७० % मानिसहरुका लागि सामान्य होईन ।

यसले गर्दा भविष्यमा ठुलै मुल्य चुकाउनुपर्ने स्थिती बन्न सक्दछ । बत्ति, बाटो, पानी, स्वास्थ्य, शिक्षा केही नभएका, भत्के भत्काईएका संरचना, बच्चा र आमाहरुको ठुलो हिस्सा कुपोषित र रक्त अल्पताका शिकार रहेको, युवाहरु दुव्र्यसनी र वेरोजगार रहेको र किसानहरु आत्महत्या गर्नुपर्ने अवस्थामा रहेको यो देशमा यसरी भ्रष्टाचार फस्टाउनु र यसका पात्रहरु मौलाउँदै जानुले आर्थिक आतंकवाद मात्र होईन हामि कहाँ कात्रोमा खल्ति राख्ने होडबाजी पनि चल्दैन भन्न सकिन्दैन ।

(सुरेन्द्रराज दाहाल)(radionrn)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार