
काठमाण्डौ ।। नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ । यो भन्दा अगाडी छविको झापडले शिल्पाको कानमा समस्या भएको समाचारहरु आएका थिए । काठमाडौं प्रहरी परिसर, टेकुमा आज भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि शिल्पाले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । त्यसक्रममा ओझाले शिल्पासँग माफी पनि मागेका थिए ।
शिल्पाले छवीसँग डिभोर्सको माग राखेको बताइए पनि छलफलमा त्यस विषयले प्रवेश पाएन । त्यो विषय उजुरीमा नभएको र व्यक्तिगत कुरा भएकाले प्रहरी कहाँ छलफल नभएको बताइएको छ । नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको असारमा गोप्य रुपमा बिहे गरेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष निर्माता ओझाले आफूहरुले विवाह गरिसकेको स्वीकारेका थिए ।