बिहे गरेको ७० वर्ष भयो, श्रीमानको नाम अझै भन्दिनन्

शान्ति वैद्य ८४ वर्ष भइन्।
उनी वटुटोल, सौलबहालमा १९९२ माघमा जन्मिएकी हुन्। आमा माणिकलक्ष्मी र बुबा कृष्णगोपाल सालिकेकी छोरी शान्तिको १२ वर्षमा बिहे भयो। उनका श्रीमान १९ वर्ष थिए। बिहे गरेको सात दशक काटिसक्दा पनि शान्ति आफ्ना श्रीमानको नाम भन्न मान्दिनन्। ’बूढाको नाम भन्दैन के। भन्न हुन्न भन्थे पहिले। त्यही भएर अहिलेसम्म भनेको छैन,’ कारण खुलाउँदै शान्तिले भनिन्।

के हुन्छ भन्यो भने?

’कुन्नि, त्यो त कसैलाई सोधेको छैन। गर्न नहुने भनेको काम किन गर्ने,’ शान्ति अडिग रहिन्।

नजिकै बसेर सुनिरहेकी उनकी कान्छी छोरीले आमालाई सहज बनाइदिँदै भनिन्, ’बाको नाम विद्यानन्द वैद्य।’

शान्ति छोरीको घर धापाखेलमा थिइन्। श्रीमान विद्यानन्द पनि सँगै थिए।

श्रीमानलाई शान्तिले बोलाउन परे के भन्थिन् होला त? छोराछोरीको नाम जोडेर, फलानाका बा। नजिकै हुँदा त झनै सजिलो रहेछ। अगाडि गएर बोलाउने।

’अहिले जस्तो हो र पहिले! सासूससुरा र मान्ने मान्छेका अगाडि बूढाको नाम त के, सिधा मुख हेर्न पनि पाइँदैन। कुरा गर्न त परको कुरा। बोल्यो भने ’नकचरी, लाज हुँदैन’ भन्थे,’ शान्ति ’त्यो जमाना’मा पुगिन्।

उनले आफ्ना श्रीमानकी फुपूकी छोरीको ’कथा’ सुनाइन्। ती फुपूकी छोरीको बिहे भएको महिना दिनसम्म उनका श्रीमानले अनुहार देखेका थिएनन् रे। यसरी पनि चल्थ्यो। ’पछि अनुहार देख्दा त सितारा रहेछ, त्यही भएर नदेखाएको रैछ,’ उनले सुनाइन्।

सितारा?

’मुखमा छ्याकी छ्याकी परेको के,’ उनले बुझाइन्।

आफ्ना श्रीमानको अनुहार देखेको पल भने उनलाई याद छैन। अरूका अगाडि त बोल्न सक्दैन थिए, कोठामा आफूहरू मात्र हुँदासमेत धेरै कुराकानी नहुने उनले बताइन्। ’श्रीमान खासै बोल्नुहुन्न। चाहिने चाहिने मात्र बोल्ने हो। त्यही भएर खास धेरै कुरै हुन्थेन,’ उनले भनिन्।

शान्तिको माइती कुलघर पशुपतिको देवपाटन रहेछ। पछि बसाइँ सरेर किलागल पुगेका रहेछन्। बुबा कृष्णगोपाल परराष्ट्रमा मीर सुब्बासम्म भएका थिए भने भाइ श्रीकृष्णले पनि परराष्ट्रमा जागिर खाइवरी अवकाश पाए। पढेलेखेको परिवारमा पनि शान्तिले भने पढ्न पाइनन्।

उनको काम भाइबहिनीको हेरचाह गर्नु, खेल्नु, अलिअलि काम गर्नु थियो। त्यत्तिकैमा एक दिन धेरै मान्छेहरू आए र उनको बिहे पक्का गरेको उनी बताउँछिन्।

नेवार समुदायमा बिहे छिनेपछि केटाको घरबाट केटीको घरमा ’लम्पिचा’ लगिने चलन रहेछ। ’लम्पिचा’ भनेको चाँदीको डब्बा, जसमा सुपारी, सिन्दुर बट्टा ’सिन्हमू’, लाखामरी र फलफूल हुने गरेको शान्तिले सुनाइन्।

शान्तिका अनुसार उनका मामा, दाजुहरूले पनि त्यो बेलाको चलनअनुसार सुपारी र ३२ वटा ठूल्ठूला लाखामरी ल्याएका थिए। ’बिहेमा सुपारी नभई हुँदैन। दुलहीलाई नातेदारसँग चिनाउँदा नाताअनुसार सुपारी दिएर हिना (ढोग) गर्न लगाउँछ,’ उनले भनिन्। स्वयंवरमै पनि दुलाहाले दुलहीलाई सुपारी दिनुपर्ने रहेछ। दुलहीले उक्त सुपारी फिर्ता गरेर हिँड्यो भने पारपाचुके गरेको समेत मानिने रहेछ।

अनि ३२ वटा लाखामरी नै किन?

’त्यो त थाहा छैन। तर, आफ्ना मावली र नजिककाहरूलाई सिंगै एउटा दिइन्थ्यो। अलि टाढाका नातालाई आधा र अझै परकालाई चौथाइ दिइन्थ्यो,’ उनले भनिन्, ’बिहेमा आउनेहरूले पनि त्यही लाखामरीको आकार हेरेर दाइजो दिन्थे, ठूलो बाटा, सानो बाटा गर्दै।’

दुलहीको मुख हेरेर पैसा दिन चलन पहिल्यैदेखि थियो। यसरी मुख हेर्दा पनि निकै पैसा जम्मा हुने गरेको उनी बताउँछिन्।

परिवारले चाहिँ दाइजो कति दिनुपर्थ्यो?

’टन्नै नि। भातभान्साका भाँडाकुँडादेखि पिसाब फेर्ने कोपरासमेत दिनुपर्थ्यो। पहिला ट्वाइलेट हुन्थेन नि। अनि भर्खर बिहे गरेकी छोरी राति कहाँ जान्छ भनेर कोपरा पनि दिने चलन थियो। एउटा मान्छेलाई चाहिने सबै कुरा दिन्थे,’ उनले सुनाइन्, ’आफ्नै मामाहरूले त गाई नै दिने चलन थियो। दूध(दही खान पावोस् भनेर होला। पछिपछि महँगी बढेर होला, बाख्रा दिन थाले।’

गाई पाल्ने ठाउँ हुन्थ्यो त?

’किन नहुनु। किलागल भनेकै गाई पाल्ने ठाउँ थियो नि। त्यहाँ सबैका घरमा गाई हुन्थे। तिनलाई टुँडिखेलमा लगाएर चराउँथ्यौं। अहिले पो टुँडिखेल इत्रो भयो। घरैघर भए। पहिले त विशाल थियो नि,’ शान्तिले बिर्सेकी छैनन्।

टुँडिखेललाई उनीहरू ’चाक्ला सिमस्’ भन्ने रहेछन्। उनको सम्झनामा टुँडिखेलको बीचमा ठूलो रूख थियो। रूखको फेदमा बनेको चौतारोमा राजा र प्रधानमन्त्रीहरू भाषण गर्थे। सूचनाहरू सुनाउँथे। पछि त्यो रूख काटियो र त्यहाँ मञ्च बन्यो। यसलाई अचेल सैनिकमञ्च भनिन्छ।

टुँडिखेलको त्यो विशाल रूख कहिले काटियो, कहिले त्यहाँ मञ्च बन्यो? यी घटनाको साल शान्तिलाई याद छैन। यसको पनि कारण रहेको उनी बताउँछिन्।

’त्यो बेला कुनै उमेरका केटी मान्छे एक्लै हिँड्न पाउँदैन थिए। बूढी मान्छेले समेत सानै बच्चाको भए पनि हात समातेर हिँड्नुपर्थ्यो। आफ्नो बूढासँग हिँड्न पनि नपाइने,’ उनले भनिन्, ’अनि त बाहिर देख्नुसुन्नु कमै हुन्थ्यो। घर वा टोलमै बित्थ्यो जीवन।’

शान्तिलाई टुँडिखेलको रूख काटेको साल थाहा नभए पनि आफ्नो ’यःमरी कोखा’ गरेको याद ताजा छ। नेवार समुदायमा कसैको बाह्रौं जन्मदिनमा ’यःमरी कोखा’ गरिन्छ। जन्मदिन भएको मान्छेलाई १२ वटा यःमरीको माला लगाइदिएर पूजा गरिन्छ। शान्तिको यो बेला बिहे भइसकेको थियो।

उनलाई गुफा राख्दाको क्षण पनि याद छ। उनी १४ वर्षकी रहिछन्। उनलाई रजस्वाला भएपछि मात्र गुफा राखिएको उनले बताइन्।

गुफा बस्दाका क्षण सम्झिँदै उनले भनिन्, ’कोठाभित्र बसेर खेलिन्थ्यो। साना बच्चा र अरू साथी आउँथे। छोरा मान्छेको मुख हेर्न पाइँदैन थियो। बाहिरफेर जान पनि नपाउने।’

अनि श्रीमानलाई हेरूँ हेरूँ भएन त?

’भएन के,’ उनले मुस्काउँदै जवाफ दिइन्।

शान्तिका श्रीमान विद्यानाथ सिंहदरबारका कविराज वैद्य थिए। घर आर्थिक रुपले सम्पन्न भएकाले घरव्यवहार कष्टकर थिएन। तै घरायसी कामको भार शान्तिमाथि छँदै थियो।

उनीहरू सबेरै किलागलबाट नरदेवीसम्म पानी लिन जान्थे। घन्टौं पालो कुरेर तीन(चार गाग्री ओसार्नुपर्थ्यो। नरदेवीको धारालाई उनीहरू ’कलधारा’ भन्ने रहेछन्। नरदेवीदेखि ल्याएको पानीले किलागल चोकमा बसेर नुहाउने, लुगा धुने चलन रहेछ।

’अहिले भान्छामा धारा देख्दा अचम्मै लाग्छ। त्यो बेला पानी बोक्दा(बोक्दा ढाड दुख्यो भन्न पनि नपाइने। अहिले ढाडमा पेटी लगाउनु परेको छ,’ उनी सुनाउँछिन्।

आफ्नै अगाडि देखेका परिवर्तनले शान्तिलाई अचम्म बनाउँछ। मान्छेका सम्बन्धहरूमा हुने व्यवहार पनि फरक भएको उनी सुनाउँछिन्।

’पहिले सासूहरूको गोडामा बुहारीले बिहान(बेलुका तेल दलिदिएर सुताउनुपर्थ्यो। अचेल बुहारीलाई लगाउनुपर्छ हैन? बुहारीहरू अफिस जान्छ। थकाइ लागेर आउँछ नि,’ उनले सुनाइन्।

लगाइदिएको छ?

’छैन। कुरा गरेको नि, यसो हँसाउने,’ उनले हाँस्दै भनिन्, ’टिभीमा र कथामा यस्तै भन्थ्यो अनि।’

अनि कथा चाहिँ कुन?

’त्यही क्या‍ पुराण भन्ने बाहुनहरूले। हाम्रो टोलमा कथा भनेको बेला ’पहिले सासूलाई तेल, अब बुहारीलाई’ भन्दै बाहुनले हँसाएको,’ उनले भनिन्।

सासूहरूलाई तेल लगाउने र जुम्रा हेरिदिने काम पनि रित पुर्‍याएर गर्नुपर्ने रहेछ।

शान्ति भन्छिन्, ’पहिले जुम्रा हेर्ने। अनि तेल लगाउने र ढोग्ने। आजभोलि जुम्रै हुँदैन। तेल पनि लाउँदैन।’

शान्तिले थुप्रै परिवर्तन देखे पनि त्यसले उनको पहिरन र मान्यतालाई छोएको छैन। उनले बीस वर्ष उमेरमा पहिलो सन्तान जन्माएकी थिइन्। तीन छोरा नित्यानन्द, उज्जवलानन्द र पञ्चानन्द वैद्य र दुई छोरी रमिता राजभण्डारी र जुनु वैद्य रघुवंशी छन्।

जेठा छोरा अमेरिकामा, ठूली छोरी लन्डनमा र बाँकी सन्तान काठमाडौंमै छन्। किलागलको मूलघर २०७२ को भुइँचालोमा भत्केपछि हाल महाराजगन्ज सरेका छन्। (सेताेपाटी बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार