काठमाण्डाै
नेपालले यूएईविरुद्धको टीट्वेन्टी क्रिकेट शृंखला पनि जितेको छ। तेस्रो तथा निर्णायक खेलमा आईतबार १४ रनको जित हात पार्दै नेपालले शृंखला २-१ ले जितेको हो। नेपालले यसअघि तीन खेलको एकदिवशीय शृंखला पनि जितेको थियो। एकदिवशीय र टीट्वेन्टी दुवैमा नेपालले पहिलोपटक शृंखला जितेको हो।
वर्षाका कारण १० ओभरमा घटाईएको खेलमा यूएईले एक सय ५ रनको लक्ष्य पाएपनि निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र ९० रन जोड्न सक्यो। यूएईका साइमन अनवरले ३० र घुलाम सब्बरले २५ रन जोडे। यूएईलाई अन्तिम ओभरमा २० रन आवश्यक थियो। नेपालका करन केसी , ललित राजबंशी र अविनाश बोहोराले दुई दुई विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए।
दुई ओभरमा २९ रन जोडेको यूएई कुनै समय निकै बलियो देखिएको थियो। यूएईले चार ओभर तीन बलमा एक विकेट गुमाएर ५७ रन जोडेको थियो। तर तेस्रो विकेटका रुपमा सब्बरलाई अविनाश बोहोराले आउट गरेपछि यूएई दबाबमा आएको थियो। यूएईले पाँच ओभरमा ६० रन जोडेको अवस्थामा छैटौँ ओभरमा सन्दीप लामिछाने बलिङमा आएका थिए।
पहिलो ओभरमा २० रन खर्चिएका सन्दीपले उक्त ओभरको तेस्रो बलमा टोलीको चौथो विकेटका रुपमा मोहम्मद उसमानलाई आउट गरे। उक्त ओभरमा सन्दीपले केवल तीन रनमात्र खर्चिए। यूएईले सात ओभरमा तीन विकेट गुमाएर ७३ रन जोडेको अवस्थामा करन केसी आठौँ ओभरमा बलिङमा आएका थिए। त्यस ओभरमा करनले मोहम्मद नाविद र अनवरलाई आउट गरे। त्यस ओभरमा उनले चार रनमात्र खर्चिए। करनले पहिलो ओभरमा १० रन खर्चिएका थिए।