“ के पहिलो हेराईमै कसैसँग प्रेम हुन सक्छ? “
यो प्रश्न मैले स्वयं आफुले आफैसंग कैयौंपटक दोहोर्याएकी छु।
“ हुनसक्छ “
“ अह हुन सक्दैन “
यस बिषयमा मन आफै कैयौंपटक दोधारमा उभिएको छ।
तिमीलाई भेटेपछिका हरेक पल यहि एउटै प्रश्नमा अल्झिएर गुज्रिरहेका छन्।

न तिम्रो नाम थाहा छ न परिचय, बस् केहि मिनेटको साथ थियो तिम्रो, बास्तबमा भन्नुपर्दा तिमी त्यही व्यक्ति हौ जो मसंग बसको यात्रामा भेटिएका थियौ।
तर तिमी मेरो साथमा हुनुभन्दा केहिपल अघि तिमीलाई पहिलोपटक देखेकि थिएं मैले। त्यतिबेला तिमी त्यहि सडकको बिपरित दिसामा हिड्दै थियौ जहाँ म तिमीलाई हेरेर एकोहोरो अनि अनायासै मुस्कुराई रहेकि थिएं।

“ हे भगवान! यो केटा मेरै सिटमा बसोस्। “ मनले हत्तपत्त भगवान पुकार्न समेत भ्याईहाल्यो। आफ्नै मनलाई देखेर म आश्चर्यचकित भएं किनकि
सडकको बिपरित दिशातर्फ हिडिरहेको युवक, त्यो पनि कहाँ हिड्दैछ थाहा छैन। बसमा नै चढ्छ कि चढ्दैन त्यो पनि थाहा छैन तैपनि “मेरै सिटमा बसोस्“ भन्नु मेरो कत्तिको मुर्खता थियो आफैलाई थाहा छैन।

केहिबेरमा नभन्दै तिमी त्यहि बसभित्र चढ्यौ, त्यतिमात्र कहाँ होर तिमी त मेरै सिटमा बस्न आईपुग्यौ। भगवानले चाहे भने साच्चै चमत्कार नै गर्न सक्ने रहेछन्। त्यो मेरो लागी साच्चै नै चमत्कारिक पल थियो। त्यतिबेला मेरा खुशीहरुले एकैपटकमा सगरमाथा चढ्न सफल भएका थिए। खै र त्यस्ता शब्दहरु, जसले त्यतिबेलाको मेरो खुशी बर्णन गर्न सकोस्। बास्तबमा त्यस्ता शब्दहरुको निमार्ण नै भएको छैन।

जिन्दगीको पहिलो प्रेम त भन्न नमिल्ला, किनकि बुबाआमा(आफन्तजन, साथीभाई अनि ईष्टमित्र पछि क्षणिक नै भएपनि कोहि कसैसंग प्रेम पक्कै भएको थियो। फरक यत्ति थियो त्यो प्रेम मनको गहिराइबाट थिएन र यो प्रेम मनको गहिराइमा खिल बनेर गाडिएको छ।

“ के त्यसोभए मैले आजसम्म कसैलाई प्रेम गरेकै थिईन त? “
मेरो जीवनमा त्यस्तो व्यक्ति पनि आएको थियो जो मेरो खुशीको लागी मरिहत्ते गर्थ्यो र आज पनि उत्तिकै प्रेमका साथ मसंगैको सुनौलो भबिष्यको कल्पनामा हराईरहेको छ। मेरो लागी खुशीका कोसेलीहरु जुटाउदै छ।
अनि म?
म पनि त हिजोसम्म उसको दुखमा दुखी भईदिन्थें। ऊ रिसाउदा बेचैन बनिरहन्थें। उसको खुशीमा खुशी हुन्थें अनि उसको आगमनमा खुब रमाउथें।
के त्यसमा प्रेम थिएन?
थिएन भने त्यो सब आखिर के का लागी थियो त?

धेरैपटक मनले आफैसंग प्रश्नैप्रश्नको दोहोरी खेलेपछि बल्ल एउटा निष्कर्ष निस्कियो।
“ हो त्यो प्रेम थिएन। “
“ त्यसोभए त्यो के थियो त? “
“ सहानुभूति “
“ छि! तँ कति स्वार्थी, आखाको आकर्षणमा मनको प्रेमलाई सहानुभूति ठानिस्? “
“ होईन त्यो सहानुभूति नै थियो “
“ कसरी?? के तँ यो प्रश्नको जवाफ दिन सक्छेस्? “
“ सक्छु, किनकि म त्यसकै पछि लागिरहें जो मलाई प्रेम गर्छु भन्दै मेरो जीवनमा आईपुग्यो। सायद उसको म प्रतिको झुकाब देखेर म पग्लिएं अझ भन्नुपर्दा म बहकिएं त्यसैले उसको प्रेमको बदलामा मैले सहानुभूति प्रकट गरें जसलाई उसले र मैले प्रेम नै सम्झियौं तर बास्तबमा त्यो प्रेम नभई सहानुभूति थियो। यदि प्रेम नै हुदो हो त उसको दुखलाई आफ्नै ठान्नुपर्ने मैले। ऊ रुदा संगै रुनुपर्ने म। उसको एक झलक पाउनको लागी पलपल तड्पिनु पर्ने म, ऊ नजिकिदा मेरो मुटुको धड्कन बढ्नु पर्ने‘‘ किन त्यसो भएन त??

“ के त्यसोभए बास्तबिक प्रेमका आधारहरु यिनीहरू नै हुन् त? “
“ सायद हुन सक्छन् र नहुन पनि सक्छन् “
“ हुन “ यस मानेमा सक्छन् कि त्यो आ(आफ्नो व्यक्तिगत बिचार हो।
“ र नहुन “ यस मानेमा सक्छन् कि सबैको बिचार सहि नै हुन्छ भन्ने हुदैन।

र अन्तिम निष्कर्ष, मलाई पहिलोपटक होईन अन्तिमपटक प्रेम भएको हो त्यो पनि तिमीसंगै।
थाहा छैन तिमीले मलाई चिन्छौ या चिन्दैनौ, सायद चिन्दैनौ होला र चिन्न पनि त सक्छौ।

मलाई यतिबेला लाग्दैछ कसैले मेरो यो लेख सेयर गरि तिम्रो “न्युज फिड्स“ सम्म पुर्याईदियोस्। मतलब मेरो मनको भावना तिमीसम्म पुगोस्। किनकि यति अधिकार त तिमीलाई पनि त छ नि “आफुलाई प्रेम गर्ने मान्छेको बारेमा थाहा पाउनु।“

भन्छन् नि “बिहे उसैसंग गर्नु जसले तिमीलाई प्रेम गरोस् न कि जोसंग तिमी प्रेम गर्छौ।“ बिहे पो आफुलाई प्रेम गर्नेसंग गर्नु त प्रेम त आखिर मनले जसलाई रोज्छ उसैलाई गर्नुपर्छ। प्रेम गर्नेसंगै बिहे हुनुपर्छ भन्ने पनि त छैन। यदि त्यसो हुन्थ्यो भने त सायद म तिमीसंग प्रेम नै गर्न पाउदैनथें।
के थाहा कतै तिमी बिबाहित पो थियौ कि?
के थाहा कतै तिमी कसैलाई आफुलाई भन्दा ज्यादा प्रेम पो गर्छौ कि?

जेसुकै होस्, मलाई ती कुराहरुले केहि फरक पार्दैनन्। होला बास्तबिकता थाहा पाए भने दिल नटुट्ला भन्न सकिदैन। तर प्रेम गर्ने व्यक्तिमा दिल टुट्दा सहन सक्ने क्षमता पनि अबस्य हुनुपर्छ। साच्चै तिमीसंग फेरि अब कहिल्यै मेरो भेट होला या नहोला?? स्वार्थी मन न हो पटकपटक भेट भईरहोस् जस्तो लाग्छ तर यति ढुक्क चाहि अबस्य छु भेट नै नभएपनि तिमीप्रतीको मेरो प्रेम कहिल्यै हराउने छैन।

धेरैपटक मन यो दुबिधामा नउल्झिएको पनि होईन कि “ त्यो मेरो पहिलो हेराई प्रेम हो या आकर्षण?? “कैयौंपटक मनले मनसंगै सवालजवाफ गर्दागर्दै बुझें “त्यो आकर्षण कदापि थिएन।“ किनकि आकर्षण नै हुदो हो त त्यसअघि अनि त्यसपछि भेटिएका लाखौं मानिसहरुमा मेरो किन ध्यान पुग्न सकेन? त्यतिधेरै मान्छेहरुको भिडमा तिमीभन्दा आकर्षक कोहि थिएनन् होला र?
फेरि आकर्षण नै हुदो हो त तिमीभन्दा आकर्षक मान्छे देखेपछि तिमीप्रतिको मेरो चाहत घट्नुपर्ने होईन र? मतलब तिमीलाई मैले भुल्नुपर्ने होईन र? तिमी त झनझन् दिनानुदिन मेरो मनको गहिराइमा गाडिदै गईरहेका छौ। कल्पनामा झनझन् ताजा बन्दै छौ। दिमागभरी आफैले शासन चलाएका छौ, दिलमा त झन् के भन्नु,

तिम्रो लागी त जति नै शब्द लेखेपनि कम नै हुन जान्छ, त्यसैले त बस् यति भन्छु “तिमी मेरो आकर्षण होईन प्रेम हौ तर यसको मतलब म पनि तिम्रो प्रेम नै हुनुपर्छ भन्नेचाहि हुदै होईन। तिमी जसको साथ खुशी छौ, उसंगै जिन्दगीभर रहनु। कतै मेरो लेख तिम्रो न्युज फिड्स सम्म पुगिहाल्यो र तिमीले पढिहाल्यौ भनेपनि तिमी कदापी नबहकिनु, हरेक कुराको निर्णय मनलाई सुम्पिदिनु अनि मनको निर्णयमा अडिक रहनु बस् त्यतिभए तिम्रो खुशीले तिम्रो साथ कहिल्यै छोड्ने छैन र त्यहि तिम्रो खुशी नै मेरो प्रेमको सफलता हुनेछ। (अन्जली)