कास्की। व्यवसायीले प्याराग्लाइडिङ उडान गरेबापतको कर नतिरेपछि पोखरा महानगरपालिकाले आज (बुधवार) देखि प्याराग्लाइडिङ उडानमा रोक लगाउने भएको छ । महानगरले प्याराग्लाइडिङ उडान हुने क्षेत्रका वडा कार्यालयमा कर बुझाउन सम्बन्धित व्यवसायीलाई पटकपटक आग्रह गर्दै आएको थियो ।

प्याराग्लाइडिङ कम्पनीले २०७२ यता महानगरलाई कर बुझाएका छैनन् । महानगरले बारम्बार ताकेता गर्दा समेत कम्पनीहरू महानगरमा दर्ता पनि भएका छैनन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलका अनुसार महानगरले गत पुसको १९ गते सञ्चालनमा रहेका सबै कम्पनीलाई अनिवार्य कर तिर्न आग्रह गरेर पत्राचार गरेको थियो ।

‘वडा कार्यालयले पनि अन्तिम पटक फागुनको १५ गते पत्र लेखेर २१ गतेभित्र कर नबुझाए उडान रोक्ने भनेर पत्र पठाएको छ । योअनुसार बुधवारदेखि उड्न पाउँदैनन्,’ उनले भने । महानगरको तथ्यांकअनुसार अहिले पोखरामा ४० ओटा कम्पनीले प्याराग्लाइडिङ उडान गरिरहेका छन् । नागरिक उड्ययन प्राधिकरण पोखराबाट भने ६० ओटा कम्पनीहरूले उडान अनुमति लिइसकेका छन् ।

४० कम्पनीमध्ये एउटा कम्पनीले मात्र कर तिरेको पोखरा महानगरका–१८ का वडाध्यक्ष रणबहादुर थापाले बताए । अहिलेसम्म माउन्टेन भ्यू प्याराग्लाइडिङले मात्र कर तिरेको छ । प्रत्येक कम्पनीले वार्षिक रूपमा पर्यटन करबापत एक लाख २५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । सो रकम वडा कार्यालय वा पोखरा महानगरपालिका जहाँ बुझाए पनि हुने व्यवस्था छ ।

आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ मा प्रत्येक कम्पनीले नेपाल सरकारलाई कर बापत जम्मा पाँच हजार पाँच सय रुपैयाँ मात्र बुझाउँथे । आर्थिक वर्ष २०७४÷७५ मा बढेर वार्षिक कर ५० हजार रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारले कर बढाएर पर्यटन शुल्क शीर्षकमा १ लाख २५ हजार रुपैयाँ बुझाउनुपर्ने नीति ल्याएको हो । कर संकलनको अधिकार महानगरले वडालाई दिएको छ । अभियानबाट