शिवरात्रिको अवसरमा नागा बाबाहरूलाई अश्लील कार्य गर्न नदिन आदेशको माग गर्दै आइतवार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । नेपालमा हिन्दू धर्ममाथि विगत १ दशकदेखि अप्रत्यक्ष रूपमा आक्रमण भइरहेको छ । सस्तो लोकप्रियताका लागि रिट निवेदन दायर गर्ने काम पनि हुँदै आएको छ । क्रिश्चियन संस्थाको खर्चमा कसले के गरिरहेका छन् भन्ने विषय पनि नआएका होइनन् । मुलुकी ऐनको अदलको महल १९ मा अरूको धर्ममा खलल पर्नेगरी कसैले पनि कुनै धर्म प्रचार गर्न वा कसैको धर्म परिवर्तन गराउनु हुँदैन । सो कुराको उद्योगसम्म गरेको भएमा ३ वर्षसम्म कैद र धर्म परिवर्तन गराइसकेकोमा ६ वर्षसम्म कैद गरी विदेशी नागरिक भए त्यस्तो सजाय भोगिसकेपछि निजलाई नेपालबाहिर निकालासमेत गरिदिनुपर्छ भन्ने उल्लेख छ ।

को हुन् नागा बाबा ?
नागा शब्द धेरै पुरानो मानिन्छ । भारतमा नाग वंश र नागा जातिको इतिहास पुरानो हो । भारतको उत्तर पूर्वी क्षेत्रमा नागवंशी र नाग जाति तथा दशनामी सम्प्रदायका मानिस बस्ने गर्छन् । भारतको नाथ सम्प्रदाय दशनामी सम्प्रदायसँग सम्बन्धित छ । नागा शब्दको उत्पत्तिबारे केही विद्वान्ले नागा शब्द संस्कृतबाट आएको भनेका छन्, जसको अर्थ ‘पहाड’ हुन्छ र यहाँ बस्ने मानिसलाई पहाडी अर्थात् नागा भनिन्छ । कच्छारी भाषामा नागा भनेको एक बहादुर लडाकु हो । नागाको अर्थ नग्न रहनेलाई पनि बुझिन्छ । उत्तर पूर्वी भारतमा बस्ने मानिसलाई समेत नागा भनिन्छ । नागाको इतिहास आठांै शताब्दीको मध्यतिर जन्मेका सनातन धर्मका आदिगुरु शङ्काराचार्यसँग सम्बन्धित छ । त्यो समयमा भारतीय जनताको स्थिति खराब थियो । मुस्लिम आक्रमणकारीहरू सलबलाएका थिए । आर्थिक सामाजिक अवस्था पनि नाजुक थियो । यस चुनौतीलाई आध्यात्मिक शक्तिले मात्र सामना गर्न पर्याप्त थिएन । त्यसैले, शङ्कराचार्यले देशको चार कुनामा धार्मिक पीठ खडा गरी युवा साधुलाई व्यायाम गराई शक्तिशाली बनाए । हतियार चलाउन पनि सिकाए । ती पीठहरू साधुको अभ्यास केन्द्र बने । उनले पछिसम्म पनि यस्ता कैयांै अखडा बनाएका उदाहरण छन् । त्यति बेला धार्मिक स्थलका साथै श्रद्धालु भक्तको रक्षामा आँच आउन थाल्यो भने ती साधुको प्रयोग गर्नू भनेर शङ्कराचार्यले अखडा प्रमुखलाई सुझाव दिएका थिए । कैयांै पटक विदेशी राजा–महाराजाको आक्रमणमा नागा बाबाहरूको सहयोग लिइएको इतिहास छ । धार्मिक स्थल गोकुलको रक्षा पनि नागा बाबाले नै गरेको भनाइ छ ।

कसरी बन्छन् नागा बाबा ?
नागा बाबा बन्न के गर्नुपर्ला ? हिन्दू, क्रिश्चियन वा मुस्लिम नै किन नहोस्, यो प्रश्न धेरैको हुन सक्छ । नागा बाबा बन्न सहज छैन । कोही नागा बन्न चाहन्छ भने सर्वप्रथम उसको पारिवारिक पृष्ठभूमि बुझिन्छ । ऊ किन नागा बाबा बन्दै छ भन्ने पनि सोधिन्छ । उसको उत्तर अखडाका मुख्य मानिसलाई चित्त बुझ्यो भने मात्र नागा साधुका लागि प्रवेश दिइन्छ । नागा बाबा बन्न ६ महीनादेखि १२ वर्षसम्म पनि लाग्न सक्छ । सांसारिक बन्धन त्याग्न सक्ने मानिस मात्र नागा बाबा बन्न सक्छ ।

नागा बाबाहरूले उच्च विधि–विधानअनुरूप लामो साधना तथा त्याग गरेपछि पुनर्जन्म प्राप्त गर्ने विश्वास गर्दछन् । नागा बाबाका लागि अनुमति पाएपछि उनीहरूले ३ वर्ष गुरुको सेवा गर्दै धर्म, कर्म र अखडाको नियम पालना गर्नुपर्छ । यो समयमा उनीहरूलाई ब्रह्मचर्यको परीक्षा लिइन्छ । त्यो प्रक्रियामा गुरुलाई दीक्षा दिन उचित लाग्यो भने मात्र अर्को प्रक्रियामा समावेश गरिन्छ । अर्को प्रक्रिया, उनीहरूले कुम्भ मेलामा दौडनुपर्छ । यो दौडमा मुण्डन गरिनुका साथै गङ्गामा १ सय ८ पटक डुब्न लगाइन्छ । विभिन्न विधिको लामो र कठोर तपस्याको अन्त्यमा साधकको विधिपूर्वक कामेन्द्रीय (लिङ्ग) भङ्ग गरिन्छ । संसारमै कडा र गाह्रो मानिने सेना, प्रहरीको जस्तै कठिन र लामो तालीम पूरा गरेर मात्र नागा बाबा बन्न सकिन्छ । उनीहरूलाई माछा, मासुलगायत खानेकुरामा बन्देज हुन्छ । त्यसपछि साधकमा कामवासनाको नियन्त्रण हुन्छ । यदि वास्तविक नागा हो भने उसले आफ्नो पिण्ड आफैंले दान गरेर अन्तिम कर्मकाण्ड पूरा गर्नुपर्छ । त्यसपछि जीवन अखडाको कडा अनुशासनमा रहेर सनातन धर्म, संस्कृतिको रक्षार्थ समर्पित हुनुपर्छ । यही नै उनीहरूको जीवनको अन्तिम लक्ष्य हो ।

पशुपति र नागा बाबा
महाशिवरात्रिको अवसरमा नागा बाबाको बारेमा सकारात्मक र नकारात्मक पक्षबारे चर्चा हुने गर्छ । आ–आफ्नो देशको प्रचलन, संस्कार अनि संस्कृति आ–आफ्नै तरीकाका हुन्छन् । नागा बाबा र साधु भगवान् शिवका अनुयायी भएकाले आराध्य देव पशुपतिनाथको दर्शन गर्नु उनीहरूको पावन कर्तव्य र परम लक्ष्य हुन्छ । यसैले, शिवरात्रिमा हामी नागा बाबा र साधुहरू देख्छौं । हिन्दू धर्ममा धेरै बाबाको चर्तिकला सुनिएको हो, तर नागा बाबा गलत गर्दैनन् । यसका मूल्य, मान्यता, विधि, विधान आदि अत्यन्त उच्च कोटीका छन् । नागा बाबाको योगदान मानवीय आध्यात्मिक प्रयोगको क्षेत्रमा अकल्पनीय र अतुलनीय छ । शिवरात्रिको बेला विशेष चर्चामा आउने नागा बाबालाई हेर्न भए पनि युवाको जमात पशुपतितिर जानु आवश्यक ठान्छन् । नागा बाबासँगै बसेर गाँजा तान्नु र उनीहरूसँग सेल्फी खिच्नु त शिवरात्रिको विशेषता नै बनेको छ । हरेक शिवरात्रिको बेला आउने नागा बाबाहरू शिवरात्रि सकिएको भोलिपल्टदेखि नै बिदा हुन थाल्छन् ।
भवनाथ प्याकुरेल अभियान दैनिक