चैत्रको पहिलो साता इमेलमा तालिमको लागि आवेदन गर्ने मेल आइसकेको रहेछ । कार्यब्यस्तताले इमेल समेत चेक गर्न पाएकी थिएन । महिला जागरण संघ पाँचथरकी अध्यक्ष मिना रिजाल दिदिले फोनबाट इमेल चेक गर्न आग्रह गर्नु भयो । थुप्रै इमेल आइसकेका रहेछन् ।
जसमध्ये टेवा नेपाल, संगत, र IGFF संस्था ले आयोजना गर्न लागेको संगत नारीबादी क्षमता अभिबृद्धि तथा सामाजिक सुरक्षा जालो सम्बन्धि तालिममको आवेदन फारम भरेर पठाउनु पर्ने रहेछ । पारिवारिक अवस्था र अन्य कार्यव्यस्तताले लामो समय सम्म यात्रा गर्न मलाइ त्यती सहज थिएन, आवेदन भर्दै गर्दा सम्म जाने की नजाने भन्ने दोधारमा परेकी म तालिमका लागि छनौट भैसक्दा जाने भन्ने निष्कर्षमा पुगिसकेकीे थिए ।
महिलाको अधिकार, क्षमता विकासऽ सीप विकास, वाल श्रम, किशोरी प्रजनन स्वास्थ्य, महिला स्वास्थ्य लगायतका क्षेत्रमा विगत ७ वर्ष देखि पाँचथरमा शाखा कार्यालयको रुपमा रहेर कृयाशिल रहदै आएको संस्था महिला जांगरण संघको तर्फबाट फारम भरेका ११ जना मध्ये बाट ५ जना सहभागिको रुपमा छनौट भएका थियौ ।
२०७७ सालको वैसाख २७ गते म संगै मिना दिदि, सुस्मा, विष्णु, र अम्विका गरी (महिला जागरण संघ पाँचथर अध्यक्ष मिना रिजाल केरुङ, कोषाध्यक्ष विष्णु सिगु, सदस्य अम्विका मगर र रेडियो मितेरी की कार्यक्रम प्रस्तोता सुष्मा हाङसरुम्बा) जम्मा ५ जनाको सदस्यिय टोलिको महिला जागरण संघ पाँचथरको प्रतिनिधित्व गर्दै काठमाण्डौ को यात्रा सुरु भयो ।
विहानको चिसो मौसम संगै सुरु भएको यात्रा, पौवाभञ्ज्याङ को चिसो वतास, कन्यामको मनोरम दृष्य साथमा मिनादिदिका रमाइला गफ, समय वितेको पत्तै नभइ झापा पुगियो । ११ः३० तिर विर्तामोड पुगेका हामी वसपार्क नजिकैको होटलमा चिया नस्ता खाएर १ः३० को फ्लाइट मार्फट काठमाण्डौ जान भद्रपुर तर्फ लाग्यौ । यो मेरो डोमेस्टिक फ्लाइटमा दोश्रो पटकको यात्रा थियो । तालिमको उत्सुकता, कोरोनाको त्रास र थोरै रोमाञ्चकता लिएर प्लेन चढ्दै गर्दा दिउसो २ बजिसकेको थियो । काठमाण्डौ अवतरण गर्ने वित्तिकै मिना दिदीकी छोरी (जो काठमाण्डौ वस्छिन) हामीलाइ लिन एयरपोर्ट आइसकेकी रहिछन् । त्यो दिन उनैले उनको होस्टल छेउ लगनखेलमा हाम्रो लागि बुक गरिदिएको होटलमा रात वित्यो ।
२८ गते टेवा पुग्नु थियो । विहानको खाना वाहिरै सवैले संगै खाने भन्ने सल्लाह थियो । सोहि बमोजिम एक थकाली रेस्टुरेन्टमा खाना खाएर सुन्धारा तथा न्यूरोड क्षेत्रमा केहि किनमेल गर्यौ, यो संगै झण्डै ४ वज्न लागेको थियो । त्यो दिनको हाम्रो गन्तव्य थियो टेवा । बेलुका ५ बजे टेवा पुग्यौ । थुप्रै जिल्लाका साथिहरु आइसक्नु भएको रहेछ । टेवामा हामिलाई गरिएको स्वागत र सत्कारले त्यहा हुने ७ दिने बसाइको झल्को दिइरहेको थियो । बेलुका खाना खाने बेलामा थाहा भयो १६ जिल्लाका साथिहरु तालिममा सहभागी हुनुहुने रहेछ । आयोजक संस्थाका व्यावस्थापक अनुजा श्रेष्ठ, कार्यक्रम संयोजक डा. पुजा पन्त लगायतसंगको संक्षिप्त कुराकानी, उहाँहरुको न्यानो स्वागत र टेवाको आफ्नै अर्गानिक उत्पादनका परिकारले भरिएको वेलुकाको खाना संगै हामी ओछ्यानमा पुगेका थियौ ।
२९ गते विहान को चिया नास्ता पछि ९ बजे टेवाको आगनमा समुहमा उभिएर एक आपसमा गरिएको परिचयात्मक कार्यक्रम संगै हाम्रो तालिमको औपचारिक कक्षा सुरु भइसकेको थियो । त्यस पश्चात हामीलाई नियममा बाधियो, विहान ५ः००–६ः०० सम्म योगा, ७ः००–८ः०० ब्रेकफास्ट र ९ः०० देखि तालिम सुरु, १ः०० बजे खाना, ५ः०० बजे तालिम समापन, वेलुका ६ः००–७ः०० दिनभरीको तालिमको समिक्षा । समयको महत्व र पालना गर्ने तरिका अत्यन्तै सराहनिय, आफु ढिलो भइन्छकी भन्ने चिन्ताले पिरोल्ने प्रकारको, प्रत्येक ३–३ घण्टामा परिवर्तन हुने प्रशिक्षक र विषयवस्तुले शिकाइलाइ प्रभावकारी बनाउन मद्धत गरेको थियो ।
नेपालमा नारी आन्दोलनको इतिहास हुदै वर्तमान राजनितिमा महिलाको अवस्था, निर्णय प्रकृयामा महिलाको भूमिका, अन्तरास्ट्रिय स्तरमा हुदै गरेका घरेलु हिंसा, लैङ्गिक समानता, महिलावादी कामहरुको प्रत्यक्ष असर, आर्थिक व्यावस्थापन, पितृ सतात्मक मुलुकमा हामिलाइ सामान्य लाग्ने कतिपय व्यवहार हरुनै महिला हिंसालाई प्रवद्र्धन गर्न धर्मद्धारा नै प्रोत्साहन गरिएका दृष्टान्तहरु स्तब्ध तुल्याउने खालका थिए ।
लामो समयदेखि नारी आन्दोलनमा वैचारिक र शैद्धान्तिक वहष छेड्दै आउनुभएका दिग्गज महिला नेतृत्व तथा वैचारिक ब्यतित्वहरु रिता थापा, डा. पुजा पन्त, अनुजा श्रेष्ठ, डा. अरुणा उप्रेती, जोश्ना, श्रेष्ठ, भारती शिलवाल गिरी, यमुना घले लगायत संग विताएको ७ दिनको समय कति छोटो भन्ने खालको रह्यो । नयाँ बर्षका दिन भएको सांगितिक कार्यक्रम, टेवा भित्रकै वनभोज कार्यक्रम, आत्मियता र साथिहरु विचमा सदभाव कायम गर्न संस्थाले गरेका विभिन्न अतिरिक्त क्रियाकलापहरु सधै सम्झना आइरहने खालका थिए । १६ वटा जिल्लाका साथिहरुले महिला हिंसाको न्युनिकरणको लागि गर्नुभएको काम र उहाँहरुको प्रयासको बारेमा भएको छलफल नै एउटा महत्वपूर्ण सिकाइ रह्यो । फरक भूगोल, फरक क्षेत्र भएपनी सबैतिर महिला अधिकारका विषयमा उठ्ने सवालहरु, महिलाले भोग्ने दुःख र पिडा उस्तै उस्तै …..
स्वास्थ्य शरिरको लागि अर्गानिक खानाको महत्व, घरायसी स्तरमै उत्पादन हुने खाद्य पदार्थबाट तयारी गरिने परिकारहरु साथमा पहिलो पल्ट टेस्ट लिएको पदिनाको जुस, ७० वर्षको उमेरमा समेत हामी भन्दा सकृय रिता थापा दिदिको हौसला र प्रेरणा तालिमका “एक्स्ट्रा टिप्स” थिए ।
काठमाण्डौको यो यात्रा र सिकाइले आफु भित्र रहेकी नारीलाइ फरक दृष्टिकोणले चिन्ने मौका मिल्यो, संसारलाइ हेरौ नारीको आँखाबाट भनेजस्तै संधै हेरीरहेका विषयवस्तुलाई नारीको दृष्टिबाट हेर्दा फरक देख्न थालेको महशुष मैले मात्र हैन ः पाँचथरबाट तालिममा सहभागी हुने मिना दिदी, विष्णु, अम्विका र सुष्माले समेत गरेको अनुभुती शेयर गर्न थाल्नुभएको थियो ।
तालिम अवधिभर महिलाको नेतृत्व र क्षमता विकासमा केही न केही गर्न पाए हुन्थ्यो, गर्न सकिन्छ की भन्ने आत्मविश्वास भरेर पठाउनुहुने म्यामहरु प्रति आभारी छु । यस क्षेत्रमा रहेर निरन्तर केही न केही गर्ने प्रयास गर्नेछु भन्ने अठोट लिएर बैसाख ४ गते काठमाण्डौ बसाइलाई विट मार्दै फेरी उही भद्रपुर–विर्तामोड हुदै फिदिम आइपुगियो, महिला अधिकार र शसक्तिकरणको पाटोमा दिर्घकालिन काम गर्ने लक्ष्य बोकेर ………..
(लेखक महिला जागरण संघ पाँचथर सदस्य, तथा रेडियो मितेरी पाँचथरकी कार्यक्रम प्रस्तोता हुन् ।)






















