पाँचथर २२ चैत्र ।। पाँचथर सदरमुकाम फिदिममा सञ्चालन हुन लागेको पाँचथर गोल्डकपको तेश्रो संस्करणको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता मानिने गोल्डकपको तेश्रो संस्करणमा ए डिभिजन सहितका १० वटा क्लबले प्रतिष्पर्धा गर्दैछन् ।
प्रतियोगितमा मिसन युनाइटेड ताप्लेजुङ, डि एफ सी मोरङ, जावलाखेल युथ क्लब ललितपुर, विजय युथ क्लब हेटौडा, रेडहर्ष फुटबल क्लब इलाम, बिर्तामोड युनाइटेड झापा, दार्जिलिङ युनाइटेड भारत, हिमालय शेर्पा क्लब काठमाण्डौ, न्यू स्टार सुनसरी, र आयोजक पाँचथर क्लब पाँचथले प्रतिष्पर्धा गर्ने आयोजक संस्था पाँचथर क्लबका सचिव योगराज सेढाइले जानकारी दिए । चैत्र २३ गते देखी सुरु हने प्रतियोगिताको पहिलो खेलमा २३ गते शनिबार ताप्लेजुङ ले मोरङको समाना गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल आगामी बैसाख २ गते हुने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिताको विजेता टिमले ४ लाख रुपैँया नगद पुरस्कार र ट्रफि पाउने छ । उप–विजेताले भने २ लाख रुपैँया नगद र ट्रफि चित्त बुझाउनु पर्ने छ । विधागत पुरस्कारहरु समेत राखिएको जानकारी दिइएको छ ।
प्रतियोगिता ४३ लाख रुपैँया लागतमा सम्पन्न गर्ने योजना रहेको आयोजकले जानकारी दिएको छ । मुख्य प्रयोजकको रुपमा वाई वाई चाउचाउ रहेको छ भने फिदिम नगरपालिका लगायतले सहयोग गरेका छन् ।