व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नेछु : अध्यक्ष कुरुम्वाङ

वि.सं. २०२४ बैशाख २७ गते पाँचथरको साविक आङसराङ गाविसमा स्व. बुवा नरबहादुर कुरुम्बाङ र आमा दिलमाया कुरुम्बाङको जेठो छोराको रुपमा वीरबहादुर कुरुम्बाङको जन्म भएको होे ।

तीन बहिनी र एक भाईका दाजु कुरुम्बाङले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको छ । २०५२ सालमा तत्कालीन नेकपा (एमाले) बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका कुरुम्बाङ स्पष्ट बक्ता र मिलनसार नेतृत्वको रुपमा चिनिनुहुन्छ ।

२०५४ सालमा वडा सदस्य निर्वाचित हुनुभएका कुरुम्बाङकोे राजनितीक यात्रा भने वि.स. २०४६ साल बाटै सुरुवात भएको हो । तत्कालिन नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय यूवा संघको साधारण सदस्य, वडा कमिटी सदस्य हुँदै गाउँ कमिटी सदस्य सम्म र तत्कालिन नेकपा एमालेको ७ औ जिल्ला अधिवेशन बाट कुरुम्बाङ निर्वाचन क्षेत्रिय कमिटी पाँचथरको उपाध्यक्ष समेत बन्नु भयो ।

यस्तै पछि पार्टीको जिल्ला सदस्य, ८ नम्बर इलाकाको इन्चार्ज हुदै पार्टी एकिकरण भएपछि जिल्ला कमिटी सचिवालय सदस्य, फाल्गुनन्द गाउँपालिका कमिटी अध्यक्ष बन्नुभयो ।

स्थानीय तहको पहिलो निर्वाचनमा नेपाली कांग्रेसका नेता स्व. अमरकुमार नेम्वाङ संग पराजित बन्नुभएका कुरुम्बाङ उपनिर्वाचनबाट भने नेपाली कांग्रेसकै नेता बृजहाङ आङदेम्बेलाइ पराजित गर्दै फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष बन्नु भएको छ । आगामी २ वर्षका लागि गाउँपालिकाको नेतृत्व सम्हाल्नुभएका कुरुम्बाङ संग रेडियो नयाँ कुरोका सम्पादक खविन लुइटेलले गर्नुभएको कुराकानी ।

भर्खरै फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ, कस्तो महशुष गर्दै हुनुहुन्छ ?
फाल्गुनन्द गाउँपालिकाका नागरिकहरुले यस पालिकाको विकास र समृद्धिको लागि जिम्मेवारी सुम्पिनु भएको छ । त्यो जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छु । केही उत्साहित र बढी जिम्मेवार महशुष भइरहेको छ ।

आगामी २ वर्षमा तपाँइले गर्ने भनेका कामहरुलाई एक पल्ट सम्झाइदिनुस न ?
फाल्गुनन्द गाउँपालिकामा विशेष गरेर शाखा बाटोहरु धेरै खनिएको छ, तिनीहरुलाई कमसेम ६ मिटर बनाउने र कसरी हुन्छ बाह्रैमास सञ्चालन हुने बनाउने प्रयास गर्नेछु । मुख्य बाटोहरुलाइ ६ मिटर बनाउने १ मिटर नालीको भाग र ५ मिटर बाटो बनाउन योजना छ ।

कुन कुन बाटोहरु यो योजनामा पर्छन ?
हाम्रो पालिकाका थुप्रै सडहकरु कालोपत्रे हुने भएका छन्, राँके रवी भेडेटार, साम्दीन मायालुमोड नवमिडाँडा, शिवा दोभान लुम्बाङहुदै नवमिडाँडा, गुम्बाडाँडा पौवासारताप हुदै नवमिडाँडा, उत्तरे यासोक लगायतका सडकहरु कालोपत्रेको चरणमा प्रवेश गरिसकेकोले अब गाउँपालिका सम्म जोड्न बाँकी रहेको भागलाइ पहिलो प्राथमिकतामा राख्नु पर्ने भएको छ जस्तो ः साम्दीन हुदै नवमिडाँडा सम्म आएको कालोपत्रेलाइ पञ्चमी सम्मलाई जोड्ने, उत्तरे यासोकलाई पुरा गर्न पहल सुरु भैसकेको छ ।

अन्य २ वर्ष भित्र सम्पन्न गर्ने योजनाहरु के के बनाउनुभएको छ ?
फाल्गुनन्द गाउँपालिका भित्रै प्रसस्त स्रोत र सम्भावना रहेका छन् । यिनिहरुलाइ नै उपयोग गरेर यहाँका नागरिकहरुको दैनिकीलाइ सहज बनाउने प्रयास यो २ वर्षमा हुनेछ । विशेषत यहाँका नागरिकका घर घर मा पीउने पानीको धारा कसरी पु¥याउन सकिन्छ भनेर चिन्तित बनिरहेको छु ।

यसको प्रयास स्वरुप वडा नं. ६ मेहेलबोटेमा लिफ्टीङ प्रणालीबाट खाने पनि सञ्चालन गर्ने भनेर समिति समेत बनिसकेको छ भने प्रदेश मार्फत ४० लाख रुपैया बजेट समेत प्राप्त भैसकेको छ, यसरी नै वडा नं. ७ मा समेत मिकाङखोला खानेपानी र कोप्चे चिहानडाँडा खानेपानी योजना सञ्चालनको तयारीमा छौ, यहाँ समेत सम्झौता भैसकेको र उपभोक्ता समिति समेत गठन भैसकेको छ । ५ नं. वडामा मन्छुवा, शिरडाँडा डाँडा खानेपानी आयोजना, कोल्बुङ खानेपानी , नागेम्बा खानेपानी लगायतका योजनाहरु मार्फत १ घर १ धारा को अभियान पुरा गर्ने सोचमा छौ ।

यसरी नै ४ नं. वडामा समेत १ घर १ धारा अभियानको लागि स्रोत पहिचान र योजना कार्यान्वायनको चरणमा प्रवेश गरिसकेका छौ । ३ नं. को विजयटार, सल्लेरीमा समेत उपभोक्ता समिति बनेर काम अगाडी बढी सकेको छ । नवमिडाँडामा लिफ्टीङ लगायतका योजनाबाट मेरो कार्यकालमा खानेपानीको सहज आपुर्ती गराउन लागि पर्नेछु । यसका अलावा यूवाहरुको शारिरिक तथा बौद्धिक विकासका लागि हरेक वडामा खेलमैदान बनाउने र युवा केन्द्रित गतिविधी सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

अर्को विषय ः स्व. अध्यक्ष अमरकुमार नेम्वाङ हुदै देखि गाउँपालिकाले विद्यालयमा भाडा तिरेर बसिरहेको छ, आफ्नै प्रशासकीय भवन बनाउने भन्ने विषय तपाँइको चुनावी एजेण्डामा समेत समावेश थियो, यो प्रकृया के हुदैछ ?

यस गाउँपालिकाले म नआइकनै महत्व पूर्ण निर्णय गरिसकेको छ । गाउँपालिकाको सेवा केन्द्रको लागि कोल्बुङ देखि माथी र याम्बाबुङ भन्दा तल जौवारी र हिलिहडको विचमा जग्गा प्राप्ती गर्ने निर्णय गरिसकेको छ । र सो स्थानबाट जग्गा समेत पर्याप्त रुपमा आइरहेको छ । तर मैले के भनिरहेको छु भने जताभावी जग्गा लिने भन्दा पनि सबैभन्दा उपयुक्त स्थान कहाँ हो सो स्थानलाइ टुङ्गो लगाउने अनी सोही स्थानको मात्रै जग्गा पास गर्नुपर्छ ।

नत्र फेरि नागरिकहरु विच असमझदारी बढ्न सक्छ यसर्थ आगामी बैठकले उक्त जग्गा टुङ्गो लगाउने र जग्गा प्राप्तीको काम अगाडी बढाउने निर्णय गने सोचेका छौ । प्रशासकीय भवन निर्माणको सन्दर्भमा प्रदेश सरकारबाट यो वर्ष बजेट विनियोजन भएकोले समयमै काम गर्न नसक्दा उक्त बजेट फिता जाने हुन्छ तसर्थ जिम्मेवार भएर सबैजना लाग्नु पर्ने अवस्था देखिएको छ । यसको नेतृत्वदायी भूमिका निर्वाह गर्न लागि परिरहेको छु ।

सफथ ग्रहण पश्चात पदभार ग्रहण गर्नुभयो र फाल्गुनन्दका सबै विद्यालयमा मातृभाषा शिक्षक नियुक्ति गर्ने प्रतिवद्धता जनाउनु भयो, यो किन आवश्यक थियो ?

सबै भन्दा पहिले केही अगाडीबाट जान चाहन्छु, चुनावी अभियानको क्रममा मलाइ मातृभाषा विरोधी भनेर चित्रण गर्न खोजियो, एउटा विद्यालय ब्यावस्थापन समितिले आफ्नो अधिकार नपाएको बिषयमा न्याय खोज्ने प्रकृयालाई सिंगो पार्टी र म संग जोडेर बदनाम गराउने प्रयास गरियो, मैले हिजो पनि कहिल्यै मातृभाषाको विरोध गरेको थिइन र आज र भोली पनि गर्ने छैन् । मातृभाषाको महत्वको विषयमा म पुर्ण जानकार छु, तर मातृभाषा शिक्षक नियुक्ति प्रकृया विधी ऐन कानुन सम्बत बनाउनुपर्छ भनेर म पहिले देखिनै भन्दै आएको हुँ, यसमा अहिले पनि स्पष्ट छु ।

कानुनी प्रकृया पुरा नगरिकन नियुक्त भएका शिक्षकहरु जुनसुकै बेलापनि उच्च जोखिममा हुन गर्छन त्यसैले सबै प्रकृया पुरा गरौ, हाम्रो पालिकाले पारित गरेको शिक्षा नियमावली अनुरुपनै शिक्षक नियुक्ती गरौ र सबै विद्यालयमा मातृभाषा लागु गरौ भन्नेमा मेरो स्पष्ट धाँरणा रहेको छ सोही अनुरुप प्रदेश सरकारको सहयोगमा सबै विद्यालयमा मातृभाषा अध्यन अध्यापनको ब्यवस्था मिलाइने छ भनेर प्रतिवद्धता ब्यक्त गरेको हुँ, त्यसको कार्यान्वायनको पाटो समेत प्रारम्भ भै सकेको छ ।

यो कुराकानी गर्दैगर्दा झण्डै डेढ महिना भयो यहाँले कार्यभार सम्हाल्नुभएको यो विचमा कतिवटा गाउँपालिकाको बैठक बस्यो र के के महत्वपूर्ण निर्णय भए ?

हामीले यो विचमा २ वटा मात्रै बैठक बस्यौ तर थुप्रै महत्वपूर्ण निर्णहरु भएका छन् । यस भन्दा अगाडी उपभोक्ता समिति बनाएर योजना सम्झौता गर्ने र लगत इस्टमेट अनुरुप काम गर्ने र अन्तिममा फरफारक गर्ने जुन विधी र प्रकृया छ त्यसको कार्यान्वायनमा केही कठिनाइ रहेको पाइयो, अब उप्रान्त विधी र प्रकृया भन्दा बाहिर गएर कुनै पनि काम नगर्ने, हार्डवेयर तथा सफ्टवेयरका कामहरुलाइ प्रतिष्पर्धात्मक प्रणाली बाट कम लागतमा बढी काम लिन सक्ने नीति अवलम्बन गर्ने, चैत्र मसान्त पछाडी कुनै पनि योजना सम्झौता नगर्ने र बैसाख मसान्त सम्ममा सबै काम सकि सक्ने निर्ण गरेका छौ ।

हिजो पनि गाउँपालिकाको सरोकारवालाको हैसियतले सबै काम कारवाहीलाई नजिकैबाट नियालीरहनुभएको थियो, बाहिर बाट हेर्दा देखिएको गाउँपालिका र आफै कार्यान्वायन गर्ने ठाउँमा आइसकेपछिको गाउँपालिकामा के फरक महशुष गर्नुभयो ? र हिजो के के कमि कमजोरी रहेछन कसरी सच्याएर अगाडी बढ्नुहुन्छ ?

गाउँपालिका भित्र प्रवेश गर्दै गर्दा केही कमि कमजोरी पाएको छु । हतारोमा काम गर्दा होस या अन्य केही आसयले योजना छनौट, वितरण जस्ता कुराहरुमा पूर्णरुपमा ऐन नियम पालना नभएको जस्तो लागेको छ, यि कुराहरुलाई सच्याएर अगाडी बढ्ने भन्ने त निर्णयनै भैसकेको छ । विधी र प्रकृया नमिलाइ गरिएका कामबाट अनावश्यक दवाव सृजना हुने हुँदा त्यस्तो प्रणालीको पूर्ण रुपमा अन्त्य गर्न हामी सबै जनप्रतीनिधीहरु सहमत छौ ।

हाम्रो एउटै लक्ष्य भने फाल्गुनन्दको विकास भएकोले स्थानीय सरकार सञ्चालन ऐन बमोजिमनै अगाडी बढेर कुनै पनि समस्याहरु नआउने गरी काम गर्नेछौ । उदाहरणको लागि बच्चा हिड्ने भैसक्यो सुत्केरी भत्ता पाएको छैन्, हो यस्तो प्रणालीको अन्त्य गर्नुपर्छ , अब कुनै पनि महिला बर्थिङ सेन्टरमा प्रसुती भैसके पश्चात हातमा भत्ता लिएर त्हाँबाट घर फर्किने अवस्था सृजना गर्न लागि परेको छु ।

तपाँइले जसरी थिती बसाल्ने कुरा गरिरहनु भएको छ, त्यसको कार्यान्वायनको लागि कर्मचारी र सम्पूर्ण जनप्रतीनिधीहरु एक ठाउँमा उभिनु जरुरी छ, यहाँ त अर्को राजनीतिक दलको बहुमत छ कार्यान्वायनको पाटो कत्तिको चुनौती पूर्ण देख्नुहुन्छ ?

यो विषयलाइ म चुनौती को रुपमा देख्दिन, हिजो निर्वाचन भैरहेको बेला मात्रै हामी कुनै पार्टीको तर्फबाबट उम्मेद्धार बनेका थियौ । विजयी भैसकेर गाउँपालिकाको भवनमा प्रवेश गरिसकेपछि सम्पूर्ण नागरिकको नेतृतव हामीले गर्नेछौ भनेर सपथ लिएका छौ । र हाम्रो दायित्व पनि यही हो, हिजो जनताले फैसला गरेपछि त्यो अध्याय समाप्त भैसक्यो अव हामी सबै जनप्रतिनीधीको उद्धेश्य भनेको कसरी नागरिकलाई सुखी र गाउँपालिकालाइ समृद्ध बनाउन सकन्छि भन्ने मात्रै हो ।

यसो भन्दै गर्दा एजेण्डामा छलफलनै हुदैन भन्ने हैन एजेण्डामा ब्यापक छलफल हुन्छ, गहिरो मन्थन बाट निस्किएको निर्णय नै सबैभन्दा प्रभावकारी निर्णय हुन्छ तसर्थ अब अझै प्रभावकारी निर्णय गर्न हामी सक्षम बनेका छौ ।

अलिकती विषयगत शाखाहरुका कुरा गरौ, फाल्गुनन्दका केही स्वास्थ्य चौकीमा गएका वर्षहरुमा वेटाडिन सम्म नपाएको अवस्था थियो ? स्वास्थ्य, शिक्षा, कृषि, पशु लगायतका शाखालाइ प्रभावकारी बनाउन यहाँको योजना के छ ?

हामी कृषि क्षेत्रबाट गाउँपालिकालाइ मजबुत बनाउने अभियानमा छौ भने विषयगत शाखाहरुलाई उपेक्षा गरेर हुदैन, गाउँपालिकालाइ किवी खेतीको जोन बनाउन सकिने सम्भाब्यता देखिएको छ ।

हो स्वास्थ्यमा यस भन्दा अगाडी थुप्रै समस्या थिए, लगत विवरण नराखी काम हुने गर्दा कतै औषधी कुहिने कतै नपाइने अवस्था थियो तर अब स्वास्थ्य लाई प्रभावकारी बनाउन यहाँ रहेको ५ वटा स्वास्थ्य चौकीका इञ्चार्ज र तिनिहरुको संयोजक विचमा बाक्लो छलफल, आवश्यकताका आधारमा औषधी खरिद, प्रभावकारी वितरण र तगल ब्यावस्थापनलाइ अनिवार्य गर्ने निर्णय भैसकेको छ । यसका अलावा शिक्षा, पशु, कृषि लगायतका कार्यक्रमहरुलाई कसरी उपभोक्ता र नागरिकले प्रत्यक्ष फाइदा लिन सक्छन भन्ने हिसाबले सञ्चालनको तयारी गरेका छौ ।

अन्तिममा फाल्गुनन्द गाउँपालिकाबासी सम्पूर्ण नागरिक र पाठकहरुलाइ यहाँको सन्देश के छ ?

नागरिकले विश्वास गरेर जुन मत दिनु भएको छ, त्सबाट मलाइ ब्यक्तिगत लाभको लागि कुनै पनि काम गर्नु छैन् । मैले जे जती गर्ने हो गाउँपालिकाकै हित र समृद्धिको लागि गर्ने हो त्यसैले फाल्गुनन्द बासी सम्पूण आमा, बुबा, दाजुभाइ तथा दिदि बहिनी र समस्त पाठकहरुमा समृद्ध फाल्गुनन्द निर्माणमा सबैले आ आफ्नो ठाउँबाट सहयोग गरिदिनहुन अनुरोध गर्दछु ।

समय र सवांदको लागि धन्यवाद
यहाँलाइ र नयाँ कुरो परिवारलाइ पनि धन्यवाद ।

(यो अन्तरबार्ता फाल्गुनन्द गाउँपालिका द्वारा प्रकाशित फाल्गुन्नद टाइम्स मासिक पत्रिकाको पौष अंकमा प्रकाशित छ)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार