नयाँ कुरो समाचार / फिदिमस्थित करदाता सेवा कार्यालयले गत आर्थिक वर्ष ०८१/०८२ मा कुल ६३ करोड ४२ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
यो रकम वार्षिक लक्ष्यको ७६ प्रतिशत रहेको कार्यालयका प्रमुख बद्री प्रसाद भेटुवालले दिनुभयो।
कार्यालयले आयकरबाट २९ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर (VAT) बाट ३३ करोड रुपैयाँ, र अन्तःशुल्कबाट ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको हो।
सबैभन्दा धेरै आयकर तिर्नेमा सरकारी कार्यालय र स्थानीय तहहरू अगाडि रहेका छन्।
उक्त आर्थिक वर्षमा पाँचथरमा १ हजार १ सय १७ जनाले व्यवसायिक स्थायी लेखा नम्बर (PAN) लिएका छन् भने २ हजार ३ सय ६२ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्।
हालसम्म कार्यालयमा ताप्लेजुङका करिब ६ हजार र पाँचथरका झण्डै ९ हजार करदाताले व्यवसायिक PAN लिएर कर तिर्दै आएका छन्।
फिदिमस्थित करदाता सेवा कार्यालयले ताप्लेजुङ र पाँचथर जिल्लालाई सेवा प्रदान गर्दै आएको छ।






















