नयाँ कुरो समाचार ।। फिदिमको होटलबाटिकामा भएको सामूहिक जबरजस्ती करणी प्रकरणमा संलग्न भनिएका पाँचै जनालाई पूर्पक्ष थुनामा राख्ने आदेश भएको छ।
जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको एकल इजलासले आइतबार यस्तो आदेश दिएको हो। अदालतले तत्कालका लागि आरोपितहरूलाई निर्दोष ठहर गर्न सकिने आधार नरहेको ठहर गर्दै अन्तिम फैसला नहुँदासम्म पूर्पक्ष थुनामा राख्ने आदेश दिएको हो।
गत असार २८ गते राति फिदिमस्थित मेनरोडमा रहेको होटलबाटिकामा आफूमाथि सामूहिक जबरजस्ती करणी भएको भन्दै परिवर्तित नाम ०२–८१/८२ (२९) ले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी थिइन्।
जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले घटनामा संलग्न भनिएका झापाका विवश खड्का, अंकित शर्मा, पाँचथरका अनिल योङहाङ, संजय तामाङ र उमेश तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो।
प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार, प्राप्त प्रमाणका आधारमा तीन जनाले जबरजस्ती करणी गरेको र दुई जना मतियार (सहयोगी) रहेको देखिएको छ। युवतीको बयान, घटनास्थलमा भेटिएका कण्डम र मदिराका बोतल, साथै आरोपितहरूको आंशिक स्वीकारोक्ति समेतको आधारमा सरकारी वकिल कार्यालयले अभियोग दर्ता गरेको हो।
सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी संहिता, २०७४ को दफा २१९ (१), (२) र (७) बमोजिम जबरजस्ती करणीमा सातदेखि पाँच वर्षसम्म कैद सजाय र सामूहिक जबरजस्ती करणीमा थप पाँच वर्षको कैद सजायको माग गर्दै तीन जनाविरुद्ध अभियोग दर्ता गरेको छ। त्यस्तै, मतियार भनिएका दुई जनाविरुद्ध मुलुकी फौजदारी संहिता, २०७४ को दफा ३३ (१), (२) र दफा ३६ (१), (२) बमोजिमको सजाय माग गर्दै अभियोग दर्ता गरिएको हो।
फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार, तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा अन्तिम फैसला नहुँदासम्म पूर्पक्ष थुनामा राख्न सकिने व्यवस्था छ।






















