नयाँ कुरो समाचार । फिदिम नगरपालिका शहरी शासकीय कार्यक्रम सञ्चालनमा उत्कृष्ट बनेको छ ।
विश्व बैंक अन्तर्गतको ऋण सहायता रकमका योजनाहरु फिदिम सहित मुलुकभरका १२ वटा नगरपालिकामा सञ्चालित छन् ।
कैलालीको लम्किचुहा नगरपालिका र पाँचथरको फिदिम नगरपालिकाले आ.ब. ०८१/०८२ मा उत्कृष्ट ढंगले काम गरेको भन्दै एक कार्यक्रमका विच प्रशंसा पत्र प्राप्त गरेका छन् ।
आ.ब. ०८१/०८२ मा फिदिम नगरपालिकाले नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी शासकिय कार्यक्रमका योजनाहरु सञ्चालन गर्न ७ करोड ६६ लाख ४३ हजार रुपैया प्राप्त गरेको थियो ।
जसमध्ये फिदिम नगरपालिकाले जसमध्ये ९९.६१ प्रतिशत रकम खर्च गर्दै १ सय २९ वटा योजना सम्पन्न गरेको हो ।
यस कार्यक्रम अन्तर्गत आ.ब. ०८१/०८२ फिदिम नगरपालिकाका १ हजार ८ सय ४४ जनाले झण्डै ३४ दिनका दरले रोजगारी पाए ।
आ.ब. ०८१/०८२ मा यही कार्यक्रम मार्फत सञ्चालित आयोजनाका श्रमिकको खातामा मात्रै ४ करोड ९८ लाख रुपैया भुक्तानी भएको नगरपालिकाका सामाजिक परिचालक केशव बरालले जानकारी दिनुभयो ।
शहरी शासकीय कार्यक्रम अन्तर्गत सडक स्तरोन्नती, भवन निर्माण, भवन मर्मत, सिचाइ कुलो लगायतका आयोजनाहरु सञ्चालन हुने गरेका छन् ।
सञ्चालित आयोजनाहरु गुणस्तरिय रहेको, बजेटको खर्च सन्तोषजनक रहेको, निर्धारित समयमा काम सम्पन्न भएको लगायतका सूचकका आधारमा मुलुकका १२ स्थानीय तह मध्ये फिदिम र लम्किचुहा उत्कृष्ट बन्न सफल भएका हुन् ।
स्थानीय तहमा प्राप्त हुने नियमित बजेटका अतिरिक्त शहरी शासकीयको बजेट प्राप्त हुने गर्दछ ।
कोभिडको अवस्थामा वढी क्षती भएका स्थानीय तहमा प्राथमिकताको आधारमा यो बजेट आउने भनिएतापनि मुलतः राजनैतिक पहुँच र नगरपालिकाको पहल क्षमताको भरमा आउने गरेको जानकार बताउछन् ।
फिदिम नगरपालिकामा आ.ब. ०८२/०८३ को लागि समेत २ करोड रुपैया बजेट शहरी शासकिय बाट आउने टुंगो यसअगाडीनै लागिसकेको छ भने थप बजेटको लागि पहल भैरहेको नगरपालिका श्रोतले बतायो ।
विश्वबैंकको ऋण साझेदारी अन्तर्गत यो बजेट खर्चमा ३५ प्रतिशत महिला सहभागीता, कामदारको खातामा सोझै भुक्तानी, आयोजनाको कुल लागतबाट बढीमा ५५ प्रतिशत रकम निर्माण सामाग्री खरिदमा खर्च, कम्तीमा ४० प्रतिशत श्रममा खर्च, गुणस्तर लगायतका कडा मापदण्ड रहेका छन् ।
ति सबै पुरा गर्दै फिदिम नगरपालिका उत्कृष्ट बनेको हो ।
हाल सम्म फिदिम नगरपालिकामा यस शिर्षक अन्तर्गतको ४३ करोड रकम भित्रिएको छ भने ६ सय ९५ वटा पूर्वाधारका योजना सम्पन्न भएका फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेलले जानकारी दिनुभयो ।























