नयाँ कुरो समाचार ।। जटिल अवस्थाको प्रसुती गराउन तुम्बेवा गाउँपालिकाबाट पाँचौ पटक हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
तुम्वेवा गाउँपालिकाकी थप एक महिलाको आज हेलिकप्टर मार्फत उद्धार गरिएको छ । स्थानीय स्वास्थ्य संस्थामा प्रसुती हुन नसकेपछी उहाँलाइ हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको हो ।
तुम्बेवा गाउँपालिका वडा नं. ५ हाङ्गुमकी मुना कुरुम्बाङको “राष्ट्रपती महिला उत्थान कार्यक्रम” अन्तर्गत हवाइ सेवा मार्फत उद्धार गरिएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले जानकारी दिनुभयो ।
अध्यक्ष खड्काका अनुसार तुम्बेवामा प्रसुती गराउनको लागि भएको आजको पाँचौ उद्धार हो भने स्वास्थ्य समस्याको सन्दर्भमा छैठौ उद्धार हो ।
मुनालाइ हिजो देखी प्रसुती बेथा लागेको थियो । उच्च रक्तचापका काँरण उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा स्थानीयमा चिन्ता थपिदै गयो ।
स्थानीय स्वास्थ्य संस्थामा प्रसुती हुन असम्भव भएपछी स्थानीले पालिका अध्यक्ष बाबुराम खड्कालाइ गुहारे ।
अन्य कामको शिलशिलामा काठमाण्डौमै रहनुभएका अध्यक्ष खड्काले जिल्ला प्रशासन कार्यालय हुदै महिला बालिबालिका अन्तर्गत ब्यावस्थापन हुने हेलिकप्टर लिएर आफै तुम्बेवा फर्किएको जानकारी दिनुभयो ।
अन्य कामको शिलशिलामा आफु काठमाण्डौमै रहेको र पालिकाबासी समस्यामा परेका थाह पाएपछी अन्य काम थाँति राखेर फर्किएको अध्यक्ष खड्काको प्रतिकृया छ ।
पालिकाले विहानै स्वास्थ्य संस्थाको रिपोर्ट सहित जिल्ला प्रशासन कार्यालयमा हेलिकप्टर ब्यावस्थापनको लागि सहजिकरण गरिदिन अनुरोध गरेको थियो ।
प्रशासन कार्यालय मार्फत महिला तथा बालबालिका मन्त्रालयमा विहान करिब साढे सात बजेनै शिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिनुभयो ।
मौसमको प्रतिकुलका काँरण केही ढिलो मात्र हेलिकप्टर आएको हो । विरामी सहित थप २ जनालाइ थापाथली स्थित प्रसुती गृहमा पठाइएको गाउँपालिका अध्यक्ष खड्काले जानकारी दिनुभयो । त्यहाँ थप १ जना सहयोगी समेतको लागि सम्पूर्ण प्रवन्ध मिलाइएको अध्यक्ष खड्काको प्रतिकृया छ ।
मुनालाइ प्रसुती गराउन स्वास्थ्य चौकी हाङ्गुम पुर्याइएको थियो । त्यहाँ सम्भव नहुने र सडक मार्ग हुँदै सुविधा सम्पन्न ठाउँमा पुर्याउन समेत असम्भव भएपछी हेलिकप्टर मार्फत उद्धारको पहल थालिएको थियो ।
काठमाण्डौ बाट आएको सेनाको हेलिकप्टरले मुनालाइ इन्द्रावती मावीको खेलमैदान हाङ्गुमबाट लिएर उडेको थियो ।
तुम्बेवामा यो संगै पछिल्लो समय ६ वटा उद्धार हेलिकप्टर मार्फत भएका छन् । जसमध्ये ५ वटा जटिल अवस्थाका प्रसुती रहेका छन भने १ वटा तुम्बेवा ५ मा भएको ट्रयाक्टर दुर्घटना रहेको छ ।






















