लेउती खोलाको बाढीले कोसी राजमार्ग र तमोर करिडोर अवरुद्ध

नयाँ कुरो समाचार ।।  अविरल रुपमा परेको पानीले लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अन्तर्गत धरान – धनकुटा सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ। लेउती खोलाको वाढीले साँगुरीगढी गाउँपालिका (६ फेदिमा करिब ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईले जानकारी दिइन्।

मंगलबार दिउँसो ४ बजेतिर पानीको बहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भई कोशी राजमार्गमा सडकमा पसेको थियो। उर्लिएको लेउतीले सडक बगाउँदा कोशी राजमार्ग सहित तमोर करिडोर हुदै पाँचथर ताप्लेजुङ आउने सडक समेत अवरुद्ध बनेको छ ।

बाटो बगाएपछि अहिले सडक पूरै अवरुद्ध छ। धरानदेखि आएका र धनकुटाबाट गएका सयौँ गाडि बाटोमा नै रोकिएका छन्। यात्रुहरु अलपत्र परेका छन्। पानीको बहाव बढेको कारण सड़क अझ क्षति हुने सम्भावना रहेको उनले बताइन्। तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति छैन। जसको कारण चाडै सडक खुल्ने सम्भावना छैन। अविरल रुपमा पानी परिरहेको कारण राजमार्गका वरपरि पहिरोको सम्भावना बढेको छ। बाढी सडक बगाएको क्षेत्रमा कुनै बस्ती रहेको छैन।

जिल्ला सदरमुकामदेखि सुरक्षाकर्मीको टोलि बाटो बगाएको स्थानमा पुगेका छन्। यता जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले कोशी राजमार्गको विभिन्न ठाउँमा पहिरो गइरहेको बताए। सदरमुकाम मास्तिरको सल्लेरीमा रुख ढल्दा वाटो अबरुद्ध बनेको छ। त्यहाँ सुरक्षाकर्मी र स्थानीयले रुख पन्छाएका छन्। उनले भने,  ठाउँठाउँमा रुख ढलेका छन्। ढलेका रुख पन्छाउने काम भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार