
नयाँ कुरो समचार ।। कोशी प्रदेशका सांसदहरू सवार गाडीलाई नेपाल प्रहरीका डिएसपीले चलाएको निजी गाडीले ठक्कर दिएको छ।
सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा डिएसपी सवार गाडीले सांसदहरू सवार गाडीलाई ठक्कर दिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० मा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले चलाउनु भएको थियो भने विपरीत दिशाबाट बिएई १४०६ नम्बरको कोसी प्रदेस सभा सदस्य मैया श्रेष्ठ लावतीको कार आउँदै थियो।
उक्त कारमा कोशी प्रदेशका सांसदहरू मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार हुनुहुन्थ्यो। दुर्घटनामा सांसदहरू सामान्य घाइते हुनुभएको छ।
सांसद मैया श्रेष्ठले एक जना सांसदलाई अलि बढी चोट लागेको र अरू सामान्य रहेको जानकारी दिनुभयो। आफू निवासमा पुगेर आराम गरिरहेको उहाँको भनाइ छ।
सांसद मैया श्रेष्ठ लावती पाँचथरबाट कांग्रेसकी सांसद, राधाकृष्ण खनाल झापा क्षेत्र नम्बर ४(१) एमालेका सांसद नम्बरलाल धिमाल झापाकै एमालेका समानुपातिक सांसद र सांसद बिद्या चाम्लिङ भने नेकपा एसको समानुपातिक सांसद हुनुहुन्छ ।
‘मेरै गाडीमा आउँदै थियौँ तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो । हामी सकुशल छौँ ।’ सांसद श्रेष्ठले बताउनुभयो ।
सांसदहरु कोशी प्रदेशसभाको आजको बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए । प्रदेशसभामा आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम थियो ।