नयाँ कुरो समाचार ।। पाँचथर जिल्लाको दक्षिणी मौवा बजारमा पहिलोपल्ट लाखे जात्राको प्रदर्शनी गरिएको छ ।
स्थानीय इभरग्रिन एकेडेमी विद्यालयले लाखेनाचको प्रदर्शनी गरेको हो । संस्कृतीको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न कार्यक्रमको आयोजना गरिएको विध्यालयका अध्यक्ष ज्ञान ब. भण्डारीले ले जानकारी दिनुभयो ।
नेवारी संस्कृती अन्तर्गतको लाखेनाच आफ्नै घर आँगनमा पहिलो पल्ट देख्न पाउँदा खुसी लागेको स्थानीय रविलाल श्रेष्ठले बताउनुभयो ।
विद्यालय प्राङगणबाट सुरु भएको लाखे नाचले मौवा बजारको परिक्रमा गरेको थियो । लाखे नाचमा तुम्वेवा गाउँपालिका अध्यक्ष वाबुराम खड्का लगायतका जनप्रतिनीधी तथा अन्य स्थानीय वासिन्दाको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
लाखेनाच मार्फत संकलन भएको रकम विरामिलाइ प्रदान गरिएको छ । संकलित रकम समीक्षा चाक्लिङ राइको उपचारमा सहयोग गरेको विद्यालयले जनाएको छ ।
समीक्षा तुम्बेवा ५ कि १९ बर्षिय किशोरी हुन् । उनि दमक क्याम्पसमा स्नातक तह पहिलो बर्षमा अध्यनरत छिन् । उनको ब्रेम ह्यामरेज तथा मुटुको भल्भ बन्द भइ उपचार भैरहेको छ ।
उपचारमा ठुलो धनराशी लाग्ने भएको र उनको परिवारको आर्थिक अवस्था समेत कमजोर भएकोले उनको उपचारमा सहयोगको संकलन गरिएको हो ।
विद्यालयले आयोजना गरेको लाखे नाचबाट संकलन भएको ११ हजार ३ सय २५ रुपैया समिक्षाका अभिभावक लाई विद्यालयका म्यानेजिङ डिरेक्टर गणेश भण्डारीले हस्तान्तरण गर्नुभएको थियो ।
समिक्षाको उपचारमा सबैले सहयोग गरेर जिवन रक्षा गरिदिन गाउँपालिका अध्यक्ष बाबुराम खड्काको आग्रह छ ।