नयाँ कुरो समाचार
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धेरै धान फलाउने कृषकलाइ पुरस्कार लिन आउन आग्रह गरेको छ । गाउँपालिकाले यो बर्षबाट ५० मुरी भन्दा धेरै धान फलाउने कृषकलाइ पुरस्कृत गर्ने भएको हो ।
यो संगै गाउँपालिकाले गत असारमा गरेको वाचा पुरा गरेको छ । गत असार १५ गते गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बे ले नवमीडाँडामा आयोजना भएको धान दिवसको कार्यक्रममा यो बर्ष देखी धेरै धान फलाउने कृषकलाइ पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
गाउँपालिकाले पुरस्कार वितरण सम्बन्धि कार्यविधि मंसिर ०६ गतेको कार्यपालिकाले पारित गरेर मंसिर ०७ गते ५० मुरी भन्दा धेरै धान फलाउने कृषकलाइ पुरस्कारको लागि दावी पेश गर्न अनुरोध गरेको हो ।
गाउँपालिकाको कार्यविधिमा ५० मुरी भन्दा धेरै धान फलाउने कृषकलाइ ३० हजार र १ सय मुरी भन्दा धेरै धान फलाउने कृषकलाइ ५० हजार रुपैया नगदै पुरस्कार प्रदान गर्ने ब्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष ठाकुर सिं नेम्वाङले जानकारी दिनुभयो ।
कृषी प्रतिको घट्दो आकर्षणलाइ हटाइ अन्न उत्पादनमा आत्मनिर्भर बनाउन यो कार्यक्रम अगाडी बढाइएको गाउँपालिका अध्यक्ष आङदेम्बेको भनाइ छ ।