खविन लुइटेल ।
पाँचथर सदरमुकाम फिदिममा डेंगु संक्रमित भेटिएका छन् ।
जिल्ला अस्पतालमा शुक्रबारको परिक्षणमा २ जनालाइ डेंगु संक्रमण देखिएको जिल्ला अस्पताल पाँचथरका सुचना अधिकारी नारायण जोशीले जानकारी दिए ।
जिल्लाकै गणेशमान सिं सामुदायिक अस्पतालमा असार २२ गते ६ बर्षिय बालिकामा डेंगु संक्रमण देखिए पश्चात ३ दिन अस्पताल बसेर घर फर्किएको तथ्याङ्क छ । तर गत श्रावण ५ गते कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेङ्गु फोकल पर्सन) विवेचना चम्लागाईँ ले सार्बजनिक गरेको तथ्याङ्कमा पाँचथरमा डेंगु संक्रमितको संख्या शुन्य रहेको बताइएको छ ।
डेंगु संक्रमित भएपछि जोखिमको आधारमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गर्नु पर्ने भएतापनि उपचारको क्रममा चिकित्सकहरुले गम्भिरताका साथ नलिएको संक्रमितहरु सुनाउछन् ।
गत शुक्रबार जिल्ला अस्पतालमा डेंगु संक्रमण भएर भर्ना भएका फिदिम २ का १९ बर्षिय युवकलाइ आज विहान (श्रावण ७ गते) जिल्ला अस्पतालले डिस्चार्ज दिएको थियो । तर आजै दिउसो उनी आफुलाइ गाह्रो भएको भन्दै गणेशमान सिं सामुदायिक अस्पताल पुगेका थिए । दिउसो २:४५ मा गणेशमान अस्पतालमा परिक्षण गर्दा ‘प्लेटलेस’ ५१ हजारमा मात्रै देखिएपछी उपचार यहाँ सम्भव नभएको भन्दै धरान रेफर गरिएको गणेशमान अस्पताल श्रोतले बतायो ।
जिल्ला अस्पतालमा हिजो उनको ‘प्लेटलेस’ १ लाख भन्दा धेरै देखिएको र आज विहान समेत उनकोे स्वास्थ्य राम्रो देखिएकोले २ दिन पछि फलोअपमा आउने गरी विरामीलाइ डिस्चार्ज दिइएको उपचारमा संलग्न जिल्ला अस्पताल पाँचथरका डा. सारशं घिमिरेले बताए ।
जिल्ला अस्पतालबाट कोठामा पुर्याउने वित्तिकै विरामीलाइ ज्वरोले च्यापेपछी गणेशमान पुर्याइएको विरामिका आफन्तले बताए ।
मुलुकभरी डेंगुको संक्रमण र विरामीको तथ्याङ्क सुनिरहेका पाँचथरका सर्वसाधारण भने आफ्नै जिल्लाको तथ्याङ्कमा अलमलिनु पर्ने अवस्था छ ।
जिल्लामा संक्रमितको विवरण र उपचारको बारेमा यकिन तथ्याङ्क नहुँदा सर्वसाधारण अलमलिनु परेको हो ।
जिल्ला स्थित सबै स्वास्थ्य संस्थाहरुले स्वास्थ्य कार्यालयमा परिक्षणको विवरण र त्यसको रिपोर्ट पठाएर एकिकृत रुपमा तथ्याङ्क सार्बजनिक हुनु पर्नेमा अस्पतालहरुले स्वास्थ्य कार्यालयलाइ विवरण उपलब्ध नगराउँदा यकिन तथ्याङ्क आउन नसकेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेजबहादुर तुम्वापोले बताए ।
- (प्लेटलेट्स एक किसिमको रक्त तत्त्व हो। यसले शरीर भित्र र बाहिर बगिरहेको रगतलाई जमाउने काम गर्छ। जसले शरीरमा कुनै पनि किसिमको चोट लागेर वा अन्य स्वास्थ्य समस्याका कारण हुने रक्तस्राव रोक्न सहयोग गर्छ। रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपाल)
सावधानी अपनाउन स्वास्थ्य कार्यालयको आग्रह / जिल्ला अस्पतालमा दैनिक निशुल्क परिक्षण
जिल्लामा डेंगुका संक्रमित देखिएसंगै साबधानी अपनाउन स्वास्थ्य कार्यालय पाँचथरले आग्रह गरेको छ ।
लामखुट्टेले टोक्न नदिन र लामखुटेको बृद्धि रोक्न ध्यान दिन स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेजबहादुर तुम्बापोले आग्रह गरेका छन् । यता डेंगुका लक्षण संग मिल्दो जुल्दो लक्षण देखिएका विरामीको जिल्ला अस्पताल पाँचथरमा निशुल्क दैनिक परिक्षणको ब्यवस्था मिलाइएको जिल्ला अस्पतालका सुचना अधिकारी नारायण जोशीले जानकारी दिए ।
डेंगु के हो ? यस्ता छन् यसका लक्षणहरु, कसरी बच्ने ?
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् ।
एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ ।
यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।
डेंगुका लक्षणहरु
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।
१. टाउको दुख्ने
२. आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
३. ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
४. शरीरमा विमिरा आउने
५. वाकवाकी लाग्ने
६. पेट दुख्ने
७. नाक वा गिजाबाट रगत बग्ने
८. रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।
कसरी बच्ने ?
डेंगुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु नै हो । लामखुट्टे पानीमा बस्ने भएकोले घरको वरपर वा पानी जम्ने ठाउँहरु जस्तैस् गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न दिनु हुँदैन । बाहिर वा लामखुट्टेले तोक्ने ठाउमा निस्कदा शरिर ढाकिने लुगा लगाउनुपर्छ । सुत्दा अनिवार्य झुलको प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।