खविन लुइटेल
सुदुर पश्चिम दार्चुला अपिहिमाल गाउँपालिकाका समुन्द्र सिं धामी सुदुर पूर्वको पाँचथर तुम्वेवा गाउँपालिकामा काम गर्छन् ।
पूर्वको भूगोल, मानिसको स्वभाव, शैलीको बारेमा आफ्नो धाँरणा र सोचाइ बोकर ६ महिना अगाडी पूर्व आउदै गर्दा उनको मनमा वेचैनी थियो — “नयाँ ठाउँ, नयाँ मानिसहरु कस्तो होलान ? कसरी सहज महशुष गर्ने होला !”
पूर्व भन्ने वित्तिकै सजिलो भूगोल, सहज र फराकिला सडकहरुको कल्पना गर्दै आएका उनी तमोर करिडोर छोडेर लखुवा दोभानबाट उकालो लागेपछि सुरु भएको अप्ठ्यारो बाटोले झस्किए । सडक मात्र हैन यहाँका मानिसहरु पनि यस्तै अप्ठ्यारा भैदिए भने के गर्ने ? उनको मनमा यहि चिन्ता थियो ।
तर तिनै धामी तुम्मेवा गाउँपालिकाको सभाहलमा उभिएर भन्दै थिए “बाटो मात्रै कच्ची रहेछ, यहाँका मान्छेको मन त पिच रहेछ ।”
सन्दर्भ हो उनको ३२ औ जन्मदिनको । साना सिचाइ कार्यक्रममा कार्यरत उनी त्यसदिनको प्रमुख अतिथी थिए । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायतका पद र ओहोदाले उनि भन्दा थुप्रै माथी रहेकाहरु त्यस दिनका लागी उनि भन्दा साना भएर उनलाइ शुभकामना प्रदान गरिरहेका थिए । उनी प्रमुख अतिथिको रुपमा मञ्चमा बसेका थिए ।
कार्यस्थलबाट ४ दिनको लगातार यात्रा पश्चात मात्र घर पुग्न सक्छन उनी, घरमा सानो नानी, श्रीमती आमा लगायत हुनुहुन्छ, जन्मदिनको दिन घर पुग्न नपाउँदाको बेचैनी विर्षिदै उनि गाउँपालिकाको यो नौलो प्रयासलाइ प्रशंसा गरिरहेका थिए ।
तुम्वेवा गाउँपालिकाले सबै कर्मचारी तथा जनप्रतिनिधीको जन्मदिन सामुहिक रुपमा कार्यक्रम गरेर मनाउने गरेको छ । जो ब्यक्तिकोे जन्मदिन हो उसैलाइ प्रमुख अतिथि बनाएर मनाइदिने गरिएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले बताए । कार्यालय सहयोगी होस या प्रमुख प्रशासकीय अधिकृत अथवा कार्यपालिका सदस्य होस या गाउँपालिका अध्यक्ष जन्मदिनको दिन उहिनै प्रमुख अतिथि हुन्छ र सबैजना भेला भएर उस्को सम्मानमा हौसला प्रदान गर्दै जन्मदिनको शुभकामना दिने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले जानकारी दिए ।
टाढा टाढा बाट सरकारी सेवामा आएका कर्मचारीको मनोवल बढाउन र पारिवारीक वातावरण निर्माण गरि कार्य सम्पादनमा उर्जा भर्ने उद्धेश्यले न्यून खर्चमा यस्तो संस्कारको थालनी गरिएको गाउँपालिका उपाध्यक्ष खड्ग सुन्दर सम्वाहाम्फेले जानकारी दिए ।
जन्मदिनको अवसरमा विद्यार्थीलाइ सहयोग
तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्काले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाइ स्टेशनरी प्रदान गरेका छन् । आफ्नो ३६ औ जन्मदिन विद्यार्थीलाइ आवश्यक शैक्षिक सामाग्री प्रदान गरेर मनाएको अध्यक्ष खड्काले बताए । स्थानीय इन्द्रेणी माध्यमिक विद्यालयमा अध्यनरत कक्षा १ देखी कक्षा ५ सम्मका १ सय ३ विद्यार्थीलाइ स्टेसनरी प्रदान गरेको जानकारी दिनुभयो ।
३६ औ जन्मदिनको अवसरमा गाउँपालिकाका कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयका विपन्न २/२ जना विद्यार्थीको मासिक शुल्क आफुले प्रदान गरिदिने समेत गाउँपालिका अध्यक्ष खड्काले घोषणा गरेका छन् ।