कांग्रेस नेता डा. भण्डारीको स्वास्थ्य अवस्थाः सबै ‘पारामिटर नर्मल’

ग्यास सिलिन्डर चुहिएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ।

नेता भण्डारीको फागुन ५ गते पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो। उनको फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ।

उपचारमा संलग्न डा. धनन्जयका अनुसार आज बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए।

पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा ‘डिप इन्ज्यूरी’ रहेका कारण सोचेभन्दा धेरै समय लागेको उनले बताए। उनलाई ‘अब्जरवेसन’ पनि कम्तीमा एक–दुई घण्टा राख्नुपर्ने नियम रहेको कारण दोस्रो सर्जरी गर्न नसकिएको जानकारी डा. मुकेशवाट प्राप्त भएको नेता कँडेलले बताए।

नेता भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको छ। चिकित्सकको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने बताइएको छ।

फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घट्नालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते बिहान निधन भएको थियो।

नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि फागुन ५ गते नै श्री एअरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। उनका दुवै हात र दुवै खुट्टा गरी २५–३० प्रतिशत जलन भएको थियो। (रासस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार