आज आम निर्वाचनः २२ हजार २२७ मतदान केन्द्र

आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।

निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फ दुई हजार ४१२ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार १९९ उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ ।

प्रतिनिधसभामा प्रत्यक्षतर्फ १६५ जना पहिलो हुने निर्वाचित हुनेछन् । समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुनेछन् ।

प्रदेशसभातर्फ प्रत्यक्षतर्फ तीन हजार २२४ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार ७०८ जना उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ ।

प्रदेशसभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कुल पाँच हजार ६३६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार