
निर्वाचन आयोगले विगतका निर्वाचनहरूभन्दा यसपटक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सहज हुने बताएको छ ।
निर्वाचन आचार–संहिताका कारण यसपटक उम्मेदवारी दर्ताको काम सहज हुने आयोगले प्रष्ट पारेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यसपटक उम्मेदवारी दर्ताका क्रममा निर्वाचन अधिकृतको कार्यालयमा ठूलो भीड हुने छैन ।
विगतमा उम्मेदवारी दर्ताका क्रममा दलहरू शक्ति प्रदर्शन गर्ने र सकेसम्म धेरै जना लिएर निर्वाचन अधिकृतको कार्यालय पुग्ने गरेकामा यसपटक यस्तो गर्न पाइने छैन । यसपटक उम्मेदवारी दर्ता गराउन एउटा दलबाट २५ जनाभन्दा बढी निर्वाचन अधिकृतको कार्यालय जान नपाइने आचारसंहितामा उल्लेख छ ।
सोही कारण थोरैको संख्यामा उपस्थिति हुँदा काम गर्न सहज र व्यवस्थित पनि हुने आयोगको निष्कर्ष छ । ‘दर्ताको लागि व्यवस्थित गर्न, भीडभाड हुन नदिन, मितव्ययी होस् र सुव्यवस्थित रुपमा मनोनयन दर्ता प्रक्रिया अघि बढोस् भन्नका लागि अहिलेको आचारसंहिताले केही कुरालाई सम्बोधन गरेको छ ।
सहप्रवक्ता अर्यालले निर्वाचन अधिकृतले आफ्नो मातहतबाट ३ वटा निर्वाचन क्षेत्रको उम्मेदवारी संकलन गर्ने बताउनुभयो।