नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुने भएको छ ।
मंगलबार अपरान्ह ली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा अध्यक्ष लीले कोभिडकै कारण नाका नियमित हुन नसकेको भन्दै नेपालमा आईरहेका चाडपर्वहरुका लागि आवश्यक सामग्री आयातका लागि नाका सहजीकरण गरिने आश्वासन पनि दिनुभयो ।
उहाँले नेपालको एक चीन नीति र नेपाली भूमि चीन विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धताको खुलेर प्रशंसा पनि गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अध्यक्ष लीले मंगलबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, नेकपा (एमाले) अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।
सभामुख अग्नि सापकोटाको निमन्त्रणमा ली गत आइतबार नेपाल आउनु भएको हो । ६७ सदस्य प्रतिनिधि मण्डलको नेतृत्व गरी अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान स्वदेश फर्कनु हुने कार्यक्रम छ ।