नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले जनस्वास्थ्यमा चासो नदिएको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् ।
अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपग्स फैलिरहँदा पनि सरकारले यसबारे नागरिकलाई सुसूचित गर्न चासो नदेखाएको उनको आरोप छ । जनस्वास्थ्यको कुरामा सरकार निद्राको अवस्थामा रहनु दुःखद् भएको उनले बताए ।
विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा पनि सीमानाहरूमा एउटा पनि साइनबोर्ड, परीक्षण केन्द्र नराखेको उनले बताए । छिमेकी देश भारतमा ४ जनामा मंकीपग्स पुष्टि भइसकेकोले नेपाल पनि यसको जोखिममा रहेको उनको भनाइ छ ।
उनले अहिलेसम्म ३४ जनामा हैजा देखिए पनि यसको नियन्त्रणका लागि सरकारले चासो नदेखाएको बताए । काठमाडौंमा हैजा फैलिसकेकोले महामारीको स्थिति उत्पन्न हुनसक्ने उनको भनाई छ । उनले हैजा बढे अनियन्त्रित अवस्था हुनसक्ने भन्दै पिउनेपानीका मुहान र सप्लाई गर्ने ट्यांकरको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।