के साँच्चै सर्छ त चुनाव ?

लामो रस्साकसीपछि यही बैशाख ३० का लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनबारे सरोकारवालाले दिने गरेका अभिव्यक्तिले थप संशय उत्पन्न गरेको छ । आसन्न निर्वाचन सम्पन्न गर्ने प्रमुख दायित्व बोकेका सत्तारुढ दलहरुकै नेताहरुले अहिले तयारी नपुग्ने भन्दै चुनाव सार्न माग गरिरहेका छन् ।

सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेता दीपक खड्का दलहरुलाई तयारी गर्न समय अपुग हुने भन्दै चुनवा सार्नुपर्ने बताउनुहुन्छ । पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत रहनुभएका नेता खड्काले गठबन्धनभित्र सबै विषयमा सहमति जुटिनसकेको र पार्टीभित्रै पनि ठोस निर्णय हुन बाँकी रहेकाले निर्वाचन कम्तिमा एक महिना सार्नुपर्ने माग गर्नुभयो ।

यसअघि सत्ता गठबन्धनभित्रकै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले चुनाव हुनेबारे संशय उत्पन्न हुने अभिव्यक्ति दिनुभएको थियो । प्रमुख विपक्षी नेकपा एमालेले भने सत्तारुढ दलहरु सुरुदेखि नै चुनाव सार्ने खेलमा रहेको आरोप लगाएको छ । आसन्न स्थानीय चुनाव सार्न अहिले पनि सत्ता गठबन्धनले अनेक षड्यन्त्र गरिरहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईको टिप्पणी छ ।

दलका नेताहरुबाट बारम्बार आउने यस्ता अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले भने चिन्ता व्यक्त गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको मितिप्रति नै संशय हुने खालका अभिव्यक्ति आउने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । आज जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले धेरै विषयमा बहस र छलफलपछि निर्वाचनको मिति तोकिएको भए पनि त्यसमाथि नै संशय हुने खालका अभिव्यक्ति आएको उल्लेख गर्दै आयोग चिन्तित रहेको बताउनुभयो ।

सत्तासीन प्रमुख राजनीतिक दलका नेताहरुले नै संशय उत्पन्न हुने किसिमका अभिव्यक्ति दिनुले समयमै निर्वाचन हुनेबारे अन्योल सिर्जना गरेको छ । चुनावी तालमेलबारे सत्ता गठबन्धनभित्र ठोस सहमित नजुट्नु र नेताहरुबाट यस्ता अभिव्यक्ति आउनुले आसन्न चुनाव सर्ने नै हो त ! भन्ने आशंका उब्जाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार