नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्ने÷नगर्ने भन्नेबारे आज बस्ने बैठकमा निर्णय गर्ने तयारी रहेको छ । बैठक दिउँसो ३ बजे बस्दै छ ।
गत शुक्रवारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आज बस्ने बैठकले चुनावमा तालमेल गर्ने÷नगर्नेबारे निर्णय गर्ने सम्भावना रहेको कांग्रेसका नेताहरुले बताएका छन् ।
शुक्रवारदेखि जारी बैठकमा चुनावी तालमेल गर्ने वा चुनावमा एक्लै जाने विषयमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त गरेका छन् । धेरैजसो नेताले लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि विशिष्ट परिस्थितिमा कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेकाले त्यही अनुसार चुनावी तालमेल गर्दा उपयुक्त हुने धारणा राखेको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो ।
स्थानीयस्तरमा पार्टीको अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जाँदा पार्टी मजबुद हुने र आगामी संसदीय चुनावमा पनि पार्टीले जित्ने धेरैको सुझाव आएको उहाँले बताउनुभयो ।
यसका लागि केन्द्रले सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव आएको र त्यसैका आधारमा आज बस्ने बैठकमा आवश्यक निर्णय हुने उहाँको भनाइ छ ।
यसैगरी कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले भने चुनावी तालमेल नगरि एक्लै चुनावमा जाँदा राम्रो हुने सुझाव दिएका छन् । डाक्टर शेखर कोइराला पक्षले चुनावमा एक्लै जान प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिँदै आएको छ ।






















