रोजगारीको प्रलोभनमा यूएई पठाउनेलाई कारबाही गर्छाै: मन्त्री श्रेष्ठ

संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग छलफल गरेका छन् ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन दिने र रोजगारीको प्रलोभनमा नेपालीलाई यूएई ल्याउनेलाई कारबाही गर्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा दोषीलाई पक्राउ गर्न सकिने बताए । वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियानअघि बढाइएको जनाउँदै उनले भने, ‘गैरकानुनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा पनि जोगिदैनन् ।’ उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको बताए।

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालय तथा दूतावासका कर्मचारीसहित प्रवासी नेपाली संघसंस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली संघका प्रतिनिधि र श्रमिकहरूको सहभागिता रहेको मन्त्री श्रेष्ठको निजी सचिवालयले आज जनाएको छ ।– रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार