जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुने प्रधानमन्त्री देउवाको घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ५ भित्रै हुने बताएका छन् । प्रधानमन्त्री देउवाले वर्तमान संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो साता नै निर्वाचन गर्ने तयारी भइरहेको बताएका हुन् । नेपाली कांग्रेस वाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा देउवाले यस्तो बताएका हुन् ।

ऐनबमोजिम स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते पूरा हुन्छ । प्रधानमन्त्री देउवाले त्योभन्दा अगावै स्थानीय तहको निर्वाचन हुने बताएको कांग्रेस वाग्मती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेतले जानकारी दिए ।

‘ऐन संशोधन गर्न झन्झट छ, त्यसैले सकेसम्म ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्ने प्रयत्न भइरहेको छ,’ भेटमा प्रधानमन्त्रीले उद्धृत गर्दै उपसभापति बस्नेतले भने, ‘जेठको ५ गतेभित्रै स्थानीय तहको निर्वाचन हुन्छ, एकै चरणमा हुन्छ ।’

प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धन दलहरूबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै चुनाव लड्ने तयारी भएको समेत बताएको बस्नेतले जानकारी दिए ।
सत्तारुढ पाँच दलीय गठबन्धनको शनिबार बालुवाटारमा बसेको बैठकले स्थानीय तहको चुनाव आउँदो जेठ महिनामा गर्ने निर्णय गरेको थियो।

गठबन्धनमा आबद्ध माओवादी केन्द्र र एकीकृत समाजावादीले चुनाव अर्को वर्ष माघ फागुनमा गर्नुपर्ने धारणा राखे पनि कांग्रेसभित्र कुरा नमिल्दा गठबन्धन जेठ मै चुनाव गर्ने निष्कर्षमा पुगेको हो।

आउँदो जेठ ४ गते चुनाव गर्दा कार्यकाल सकिनुभन्दा अघि नै चुनाव गर्नुपर्ने स्थानीय निर्वाचन ऐन २०७३ को प्रावधान अनुकुल हुने भएकाले उक्त मितिमा चुनाव गरिन लागेको हो।

ऐनको दफा ३ मा कार्यकाल सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले वैशाख १४ र २२ गते चुनाव गर्न सरकारलाई औपचारिक रुपमा सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार