महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माको उदयले सिंगो नेपाली कांग्रेसमा मात्रै नभई नेपालको राजनीतिमै एक नयाँ उत्साहको सञ्चार गरेको सम्वद्ध व्यक्तिहरुले बताएका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनमा दुई फरक गुटबाट शर्मा र थापा महामन्त्रीमा विजयी हुनुभयो । रोचक त के छ भने टिममा नपरेपछि संस्थापनबाट विद्रोह गरेका शर्माले फरक प्यानलबाट उम्मेदवारी दिएर पनि शानदार विजय हासिल गर्नुभयो ।
तेज तर्रार युवाहरुको यो जबर्जस्त उदयले कांग्रेसमा पुस्तान्तरण र रुपान्तरणको विषयलाई अझ शक्तिशाली पारेको छ । राजनीतिक विश्लेषक लोकराज बरालले गगन र विश्वप्रकाशहरुको उदयले कांग्रेसको अनुहार चम्केको बताउनुभयो ।
यी दुई तेजिला युवाहरुको आगमनले कांग्रेसलाई आगामी निर्वाचन सहज हुने उहाँको टिप्पणी छ । सभापति शेरबहादुर देउवाले सन्तुलन मिलाउँदै युवाहरुको साथ लिएर अघि बढे पार्टी सुध्रिन समय नलाग्ने उहाँले बताउनुभयो ।
महामन्त्रीमा निर्वाचित भएका गगन र विश्वप्रकाश एकअर्काका प्रतिस्पर्धी पनि हुन् । तर अब आफूहरुले प्रतिस्पर्धा भन्दा धेरै सहकार्यमा जोड दिने शर्माले बताउनुभयो।
देशभरका नेता कार्यकर्ताले गगन र विश्वप्रकाशको जोडीलाई अनुमोदन गरेकोले कांग्रेसलाई अझ बलियो पार्न आफूहरु क्रियाशील हुने उहाँले बताउनुभयो । शर्माले आफ्नो विजय कुनै गुटको मात्रै नभइ एकताबद्ध कांग्रेसका लागि सुनौलो सन्देश रहेको बताउनुभयो ।
अपार मतसहित शेखर कोइरालाको समूहबाट निर्वाचित गगन थापाले आफूलाई मत नदिएका १६०० प्रनिनिधिको पनि मन जित्ने गरेर काम गर्ने बताउनुभयो । उहाँले कांग्रेस र कांग्रसीहरुको भविष्य निर्माणका लागि अब आफूलाई एक मिनेट पनि आराम गर्ने सुविधा नरहेको बताउनुभयो ।
थापा र शर्मा विजयी हुँदा संस्थापन समूहबाट उम्मेदवार बनेका प्रकाशशरण महत र प्रदीप पौडेलका साथै शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका मिनेन्द्र रिजालले भने नमिठो पराजय भोग्नुपर्यो । पार्टीको निर्वाचनमा हारेलगत्तै रिजालले रक्षामन्त्रीबाट पनि राजीनामा नै दिनुभयो ।
महामन्त्री निर्वाचित भएका शर्मा र थापा कांग्रेसभित्र मिठो भाषणशैली भएका नेताका रुपमा पनि चिनिन्छन् । विधिभन्दा विपरीत भए खरो प्रतिवाद गर्ने शैली पनि उनीहरुको समान छ ।
तर अब कांग्रेसमा सभापतिपछिको शक्तिशाली मानिने महामन्त्री पदको जिम्मेवारी उनीहरुले कसरी पूरा गर्नेछन् त्यो भविष्यमा देखिने छ । विश्वप्रकाश र गगनको विजयमा आम नेपालीले भने भविष्यको नेपाल देखिरहेका छन् ।






















