आज बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार गठबन्धनको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बन्नुभएका पाण्डेले विश्वासको मत लिन लाग्नुभएको हो ।

विश्वासको मत लिन मुख्यमन्त्री पाण्डेले प्रदेश सभाको सचिवालयमा लिखित जानकारी गराइसक्नुभएको छ । यसअघि अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमाले विभाजित भएसँगै अल्पमतमा पर्नुभएका शाक्यले कात्तिक १० गते विश्वासको मतको प्रस्तावका लागि हुने मतदानमा प्रक्रियामा सहभागी नभइ राजीनामा दिनुभएको थियो ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारसँगै सरकारको आगामी साझा कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।

हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको बागमतीमा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ । गठबन्धनको समर्थनबाट मुख्यमन्त्री बन्नुभएका पाण्डेको पक्षमा ५९ जना सांसद छन् । फ्लोर क्रश नभएको खण्डमा मुख्यन्त्री पाण्डेले विश्वासको मत पाउने निश्चित जस्तै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार