ज्योती भण्डारी ।। कार्तिकमा परेको झरीका कारण गएको बाढी र पहिरोले ३० जनाको ज्यान लिइसकेको थियो, दर्जनौ परिवार विस्थापित बनेका थिए । आफन्त परिवार गुमाउनुको पिडा त छदैथियो, सयौंको संख्यामा नागरिकहरु घरबारविहीन भएर अन्यत्र कतै शरण लिएर बस्न बाध्य थिए । यो सबै दशैको विचमा भएको थियो ।
पाँचथर जिल्लाका केही भूभाग बाढि पहिरोको उच्च जोखिममा रहेका छन् भन्ने पूर्वानुमान थियो तर कल्पनै नगरिएका खहरे र खोलाहरु उर्लिएर बगाएका बस्तीहरु देख्दा “जेन्टल पहाड” भनेर चिनिने पूर्वका पहाडहरु कति सुरक्षित ? भनेर सोच्ने बेला भएको छ ।
अरुलाइ सुरक्षा दिन बसेको नावा खोलाको प्रहरी चौकी आफै सुरक्षा खोज्दै स्थानीयको घरमा पुग्यो । चौकीको धुरी मात्रै देखिन्छ । साँवा खोलाले बन्दै गरेको पुल सहित स्काभेटर समेत बगाएको थियो ।
उच्च पहाडी भेगसम्म कुनै सम्बन्ध नभएका र ठुलो मुहान समेत नभएका यि खोलाहरुको यो पल्टको वितण्डा कल्पना भन्दा बाहिर देखियो । यि त केवल उदाहरण मात्रै हुन् । मेची राजमार्गको क्षतविक्षत अवस्था, तमोर करिडोर को अवस्था, भित्री सडकहरु हप्ता दिन सम्म खुल्न नसकेको अवस्थाले यो विपत्तीको क्षती अनुमान गर्न सकिन्छ ।
हिजो मात्रै थप १ जना नागरिकको शव भेटिएपछी पाँचथरमा वाढी पहिरोकै कारण मात्रै मृत्यु हुनेको संख्या ३१ पुगेको छ । अझै केही नागरिक वेपत्ता छन् ।
चाडबाडको मध्य समयमा परेको वेमौसमी पानीले पारिवारिक जमघटमा रमाइरहेका नागरिकको खुशी खोसेको छ । मानिसहरु मध्य दशैमा घर पहिरोले बगाएपछी अस्थायी क्याम्प, विद्धालय र छिमेकिको शरणमा बसिरहेका छन् । मावनिय क्षती र भौतिक क्षतिका अलावा पशुधन, बालीनाली लगायतको क्षतिको लेखा जोखा छैन् ।
घर फर्किएर बस्ने अवस्था छैन, कहिले सम्म यो विद्यालयमा बस्नु ? राँके स्थित चिम्फुला मावीमा बसेका पहिरो पिडित प्रश्न गर्छन।
आफन्तकोमा गएका पाहुनाहरु हप्तौ दिन वितिसक्दा समेत घर जान सकेका छैनन् । बाढी पहिरो प्रभावितलाइ पुरानै अवस्थामा फर्कन अझै थुप्रै समय लाग्ने देखिन्छ । त्यस माथी अस्थायी रुपमा खुलेका राजमार्गहरु चिरा चिरा भएका छन् । सामान्य पानी छिट्याउने वित्तिकै माथिबाट ढुङ्गा खस्ने र पहिरोको जोखिम कायमै देखिन्छ ।
अझधेरै पिडा दिने विषय महान चाड दशैको विचमा यो सबै भैरहेको थियो । कोरोना कहर केहि सामान्य बनेर मानिसहरु चाडबाड मनाउन लागेका थिए, लामो समयको लकडाउन, कोरोनाका काँरण भएका मृत्यु र विरामको पिडा भूल्दै विस्तारै जनजिवन सामान्य वन्दै थियो । बजार र पसलहरुमा चहलपहल सुरु भएको थियो ।
मानिसहरु सामान्य दैनिकिमा फर्किएर एक आपसमा खुशी र सुख साटिरहेका थिए, पारिवारिक जमघटमा रमाइरहेका थिए, त्यही बेलाको विपत्तीले झन ठुलो पिडा दियो ।
पिडाका विचमा मुलुकका कार्यकारी प्रमुख (प्रधानमन्त्री लगायत मन्त्रीहरु) को जिल्ला भ्रमणले केही आसा जगाएकाे छ । स्थानीय तहको नेतृत्व राहत वितरण र पुनर्स्थापनामा लागि परेका छन् ।
स्थानीय सरकार मात्र हैन सुरक्षा निकाय, सरोकारवाला तथा अन्य सबैको सामुहिक प्रयासले मात्र यो विपत्तीबाट निस्कन सकिने पक्का छ ।
२०२८ सालमा ठुलो बाढि पहिरो गएको रे, २०४६ सालको भूकम्पबाट भएको क्षती हेर्न तत्कालिन राजा पाँचथर आएका थिए रे, भने जस्तै २०७८ साल समेत मुलुकका प्रमुखहरु क्षति हेर्न भन्दै जिल्ला आउनु परेको छ । कामना गरौ यस्ता दु:खद घटनाको अवलोकन गर्न कहिल्यै राष्ट्रका प्रमुखहरु हाम्रो जिल्ला आउनु नपरोस ।
बाढी र पहिरोको पिडा सेलाउन नपाउदै केहि दिन भित्रमै जिल्लामै भएको बस दुर्घटनामा ४ जनाको ज्यान जानु ६० भन्दा धेरै घाइते हुनुले अर्को ठुलो पिडा पाँचथरले फेरी ब्यहोर्नु परेको छ । यस दुर्घटनाका घाइतेहरु अहिले अस्पतालमा उपचारारत छन् ।
पहिरोमा वेपत्ता भएका नागिरकको खोजि कार्य भैरहेको छ । यस विपत्तीमा दिवंगत हुने हरु प्रती हार्दिक श्रद्धञ्जली अर्पण गर्दछु । घाइते सम्पूर्णको शिघ्र स्वास्थ् लाभको कामना गर्दै यो विपत्तीको श्रृङखला यही रोकियोस भन्ने प्रार्थना गर्दछु । लेखिका नयाँ कुरोको ब्यावस्थापक हुन् ।
तस्विरहरु : सामाजिक सञ्जालबाट