
अन्तिम समयमा गोल गर्दै बंगलादेशसँग एक एक गोलको बराबरी गरेपनि नेपाली टिमले साफको इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भयो ।
साफ च्याम्पियनसिपमा नेपालले इतिहास बनाएको छ । लिग चरणको अन्तिम खेलमा अन्तिम समयमा गोल गर्दै बंगलादेशसँग एक एक गोलको बराबरी गरेपनि नेपाली टिमले साफको इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भयो । नेपाली समर्थकका लागि माल्दिभ्सबाट निकै सुखद खबर आएको छ ।
नेपालले खेलमा एक गोलले पछि परेको अवस्थामा खेल बराबरी गर्दै इतिहास बनायो । नेपाललाई हारबाट बचाउन अञ्जन विष्टले पेनाल्टीमा गोल गरे । माल्दिभ्सको माले रंगशालामा भएको खेलमा नेपाल सुरुवातमा नै एक गोल खान पुग्यो । खेलको दोस्रो मिनेटमा नै नेपालले फ्रिकिकको अवसर पाएको थियो । जसलाई सुजल श्रेष्ठले निकै फितलो प्रहार गरे ।
खेलको आठौं मिनेटमा सुमन गौतमले फल गरेपछि पाएको फ्रिकिकमा बंगलादेशले गोल गर्न सफल भयो । उसका लागि मोहम्मद सुमन रेजाले गोल गर्न सफल भए । डिबक्समा रेजालाई नेपाली खेलाडीले मार्क गर्न सकेनन् । जसका कारण फ्रिहेडर गोल गरे ।
१५ औं मिनेटमा नेपालले सुन्दर गोलको अवसर गुमायो । गौतम श्रेष्ठले डिबक्समा मिलाइदिएको बलमा रोहित चन्दको प्रहार पोष्टको निकैमाथिबाट बाहिरीयो । १९ औं मिनेटमा बंगलादेशका राकिबको प्रहार फ्रेम बाहिर रह्यो ।
२२ औं मिनेटमा बंगलादेशका सुमन रेजाले अर्को मौका पाएपनि त्यसलाई नेपाली गोलकिपर किरण चेम्जोङले बचाए । मोहम्मद इब्राहिमले मिलाएको बललाई दिनेश राजवंशीले क्लियन गर्न नसक्दा रेजाले प्रहार गर्ने मौका पाएका थिए ।
२४ औं मिनेटमा अञ्जन विष्ट प्रहार गरेको फ्रिकिक पोष्टको नजिकैबाट बाहिरीन पुग्यो । ३२ औं मिनेटमा नेपालले अर्को अवसर पाएको थियो । तर आयुष घलानले डिबक्समा पाएको अवसरलाई आत्मसाथ गर्न सकेनन् । अञ्जन विष्टले डिबक्समा मिलाएको बललाई आयुषले राम्रोसँग कनेक्ट गर्न सकेनन् ।
नेपालले पहिलो हाफ डरलाग्दो आक्रमण गर्न सकेन । त्यसको विपरित बंगलादेशले केहि मौका पाएपनि आत्मसाथ गर्न सकेन । यस्तैमा पहिलो हाफको अन्तिममा अञ्जन विष्टले पहेलो कार्ड पाए । यो प्रतियोगितामा उनले दोस्रो पहेलो कार्ड पाए । जसका कारण नेपालले खेल्ने फाइनल खेल अञ्जनले गुमाउने छन् । उनले यसअघि भारतविरुद्धको खेलमा पनि पहेँलो कार्ड पाएका थिए ।
पहिलो हाफका इन्जुरी समयमा नेपालका आयुष घलानले अवसर पाएपनि त्योपनि गुमाउन पुगे । रोहित चन्दको क्रसमा आयुष घलानको हेडर पोष्टको माथिबाट बाहिरीयो । जसका कारण नेपाल पहिलो हाफमा एक शुन्यले पछाडी पर्यो ।
दोस्रो हाफमा नेपालले केहि आक्रामक खेल खेलेको थियो । ४९ औं मिनेटमा आयुष घलानको फ्रिकिक प्रहारलाई बंगलादेशी गोलकिपर अनिसुर रहमानले पन्च गरे ।
५३ औं मिनेटमा नेपाल गोलको नजिकै पुगेरपनि चुक्न पुग्यो । अनन्त तामाङबाट आएको हेडर बललाई आयुष घलानले डिबक्समा गरेको हेडको प्रयासलाई बंगलादेशी गोलकिपर अनिसुरले उत्कृष्ट बचाउ गरे ।
त्यसको दोस्रो मिनेटमा नेपाल दोस्रो गोल खानबाट बच्यो । बंगलादेशका सुमन रेजाको प्रहारलाई गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे । वन भर्सेस वनको अवस्थामा किरणले बचाएका थिए । ६४ औं मिनेटमा बंगलादेशका रेजाले गरेको प्रहारलाई फेरी किरण चेम्जोङले बचाए ।
६९ औं मिनेटमा गौतम श्रेष्ठको क्रमसमा रोहित चन्दले डिबक्समा गरेको हेडर पोष्टको नजिकैबाट बाहिरीदा नेपाली समर्थक चुकचुकाउन पुगे । ७२ औं मिनेटमा बंगलादेशका सुमन रेजाले लामो दुरीबाट गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।
७५ औं मिनेटमा सुमन अर्यालको प्रहारमा मनिष डाँगीले हेडको प्रयास गरेपनि बंगलादेशी गोलकिपरले बचाए । ७८ औं मिनेटमा बंगलादेशी गोलकिपर अनिसुरले डिबक्स बाहिर आएर अञ्जन विष्टलाई फल गरेपछि सोझै रातो कार्ड पाएर बाहिरीएका थिए । जसका कारण नेपालले पाएको फ्रिकिकलाई पनि अन्तिममा बंगलादेशी गोलकिपर रानाले बचाए ।
८६ औं मिनेटमा नेपालले पेनाल्टी पायो । डिबक्समा अञ्जन विष्टलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसलाई अञ्जन विष्टले नै गोल गर्न सफल भए । खेलको अन्तिममा गोल फर्काए ।
अब नेपालले फाइनलमा भारत र माल्दिभ्सको खेलबाट फाइनलमा पुग्ने टिमसँग खेल्नेछ । त्यसपछि पनि नेपालका मनिष डाँगीले अर्को मौका पाएपनि उनको प्रहार पोष्ट बाहिर रह्यो । stv