काँग्रेसको वडा अधिवेशन आज पाँच जिल्लामा

नेपाली काँग्रेसको वडा अधिवेशन आज पाँच जिल्लामा हुन लागेका छन् । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार आज भदौ २२ गते गुल्मी, रोल्पा, प्युठान, कालीकोट र दार्चुलामा वडा अधिवेशन हुन लागेका हुन ।

यही भदौ १८ गतेदेखि विभिन्न जिल्लामा वडा अधिवेशन गर्न लागेको काँग्रेसले भोली भने रुकुुमपूर्व र रुकुमपश्चिममा अधिवेशन गर्ने तय गरेको छ ।

यसअघि हिजो ११ जिल्लामा वडा अधिवेशन भएको निर्वाचन समितिले जनाएको छ । हिजो तोकेर पनि विभिन्न कारणले हिजो अधिवेशन हुन नसकेका कतिपय वडामा भने आज हुन लागेका छन् । हिजो सुनसरी, नुवाकोट, धादिङ, चितवन, ललितपुर, पाल्पा, बागलुङ, नवलपुर, सल्यान, मुगु र बैतडीमा वडा अधिवेशन गर्ने निर्णय भएको थियो ।

काँग्रेसको नगर अधिवेशन भदौ २७ गतेका लागि तय भएकाले २६ गतेसम्ममा वडा अधिवेशन सम्पन्न गर्न सकिने निर्वाचन समितिले व्यवस्था गरेको छ ।

क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ–नगरपालिका अधिवेशनसम्म सबै जिल्लामा वडाको अधिवेशन सम्पन्न गर्ने योजना रहेको पार्टी कार्यालयले जनाएको छ ।

क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये अहिलेसम्म ४५ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।
अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार