सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्दार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको छिटो भन्दा छिटो सकुशल उद्धार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नु भयो, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ।’ त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्यअघि बढाउन निर्देशन दिने मन्त्रिपरिषद बैठकले निर्णय भएको कार्कीले बताउनु भयो ।
विद्रोही तालिबानले राज्य सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा रहेका विदेशी नागरिकहरूको ज्यान जोखिममा परेको छ ।
मानस्थलमा काबुल छाड्न चाहनेहरुको भागदौड देखिन्छ । त्यहाँ करिब १५ सय नेपालीहरु रहेको सरकारको अनुमान छ ।
उनीहरुको अवस्था भने थाहा हुन सकेको छैन । सरकारले यसअघि नै अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आह्वान गरेको थियो ।






















