देउवा बने पाँचौपटक प्रधानमन्त्री, शपथको तयारी हुँदै

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भएको छ ।

आज संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको हो । सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै राष्ट्रपति भण्डारीले नियुक्ति दिनुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाए पनि उहाकै नेतृत्वमा मुलुक चुनावमा जाने छ । यसअघि हिजो सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

देउवाको प्रधानमन्त्रीको रुपमा यो पाँचौं कार्यकाल हो । यसअघि उहाँ २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसक्नु भएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आजै शपथ ग्रहण गर्ने कार्यक्रम छ । अहिले त्यसैको तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ । शपथ साँझ ६ बजेतिर हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार