फेरि देशव्यापी खोप अभियानसञ्चालन , यस्तो छ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना

पाँचथर ।। अमेरिका र चीनबाट कोरोनाविरुद्धको खोप उपलब्ध भएसँगै आजबाट फेरि देशव्यापी खोप अभियानसञ्चालन हुने भएको छ।

मंगलबार अमेरिकी सहयोगमा काठमाडौं आएको जोनसनको खोप र चीनबाट २५ असारमा खरिद गरिएको भेरोसेल १० लाख डोज खोप आजदेखि लगाउन थालिने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बसेको बैठकले २९ गतेबाट खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

को को परे प्राथमिकतामा ?

चिनियाँ खोप खोपको पहिलो प्राथमिकतामा ५५ वर्ष माथिका पहिलो मात्रा खोप लगाउन छुटेका सबै नागरिकलाई लगाइने भएको छ।

त्यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापन, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिका साथै खोप अनिवार्य गरिएको विदेश जाने नागरिकलाई चीनबाट ल्याइएको भेरोसेल लगाइने भएको छ।

साथै अमेरिकाको सहयोगमा उपलब्ध भएको जोन्सन एण्ड जोन्सन खोपको पहिलो प्राथमिकतामा ५० देखि ५४ उमेर समूहकालाई लगाइने भएको छ।

पूर्ण र अतिअशक्त अपांगता क र ख वर्गका सबै नागरिक, नेपालमा बसोवास गरेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई अमेरिकी खोप लगाइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खोप लगाउन जाँदा अनिवार्यरुपमा आफ्नो उमेर, पेशा वा शारीरिक अवस्था खुल्ने परिचय पत्र लिएर जान अनुरोध गरेकाो छ ।

परिचयपत्र नभएको खण्डमा स्थानीय तहबाट उमेर खुल्ने सिफारिस लिएर खोप लगाउन जान अनुरोध गरेको छ । मन्त्रालयले कोभिशिल्ड खोप पहिलो मात्रा लगाएकाहरुका लागि यी खोपहरु लगाउन नहुने समेत जानकारी दिएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार