कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा शनिवार नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ ।कोभिडको कारणले दुई महीनादेखि नियमित उडान बन्द भएकामा शनिवार पहिलोपटक जहाज अवतरण भएको हो ।
नेपाल वायु सेवा निगमको जहाजले काठमाडौंबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौं फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले बताए ।निगमले गत सोमवारदेखि नै नियमित उडान शुरु गरेको थियो ।
गत सोमवार काठमाडौंबाट नौ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौं फर्केको थियो । सोमवार अवतरण हुन नसकेको जहाज शनिवार अवतरण भएको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लिम्बुले बताए ।
सुकेटारमा हप्तामा चार दिन सोमवार, बुधवार, शुक्रवार र शनिवार नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म रू। सात हजार ५० विमान भाडा शुल्क र ताप्लेजुङदेखि काठमाडौं रू। सात हजार १९० भाडा शुल्क तोकिएको कार्यालयले जानकारी दिएको छ ।
निगमले ताप्लेजुङदेखि १ नम्बर प्रदेश राजधानी विराटनगरमा पनि नियमित उडानको लागि प्रक्रिया आगाडि बढिरहेको लिम्बुल बताए । रासस