इंग्ल्याण्ड पहिलोपटक युरोकपको फाइनलमा, उपाधिका लागि इटालीसँग खेल्ने

काठमाडौं।। डेनमार्कलाई पराजित गर्दै इंग्ल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै पहिलोपटक युरोकपको उपाधि नजिक पुगेको हो ।

वेम्बली स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता भने पाहुना टोली डेनमार्कले लिएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले सुन्दर फ्रिकिकमार्फत ३० औं मिनेटमा नै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर, घरेलु टोली इंग्ल्याण्डले त्यसलाई उल्टाएर जित निकालेको हो ।

खेलको ३९ औं मिनेटमा इंग्ल्याण्डले आत्मघाती गोलको सहयोगमा खेल बराबरी गर्यो । डेनमार्कका कप्तान
सिमन केजारले आत्मघाती गोल गरेका थिए ।

दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए । उनले आफंैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन् ।

रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्सभित्र फउल गर्दै लडाएपछि इंग्ल्यान्डले भिएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो । जसमा केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्पर सुमाइकलले रोकेका थिए । तर, रिबाउन्डमा आएको बलमा केनले सहजै गोल गरे ।

यससँगै इंग्ल्यान्ड पहिलो युरोकपको फाइनलमा फाइनलमा प्रवेश गरेको छ । यसअघि दुईपटक इंग्ल्याण्ड सेमिफाइनलमै पराजित भएको थियो ।

अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार