विप्लवका नेकपाका नेताकार्यकर्ता अझै थुनामै

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगी भेटेरै विप्लव समूहका दुई नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलाले सरकारले वार्ताका क्रममा भएका सहमतिअनुसार आफ्ना नेताकार्यकर्तालाई नछाडेको भन्दै आपत्ति जनाए ।

सरकार विप्लव समूहबीच चार महिना अघि अर्थात् २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो । सो सहमतिमा विप्लव समूहले शान्तिपूणर् राजनीतिको मार्गमा आउने प्रतिबद्धता जनाएको थियो भने सरकारले विप्लव नेतृत्वको दलमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने र जेलमा रहेका नेताकार्यकर्ता छाड्ने भनेको थियो ।

तर, सहमतिको चार महिना बित्दा पनि आफ्ना नेता कार्यकर्तालाई सरकारले थुनामुक्त नगरेको र कतिपयको मुद्दा नै चलिरहेको भन्दै सो समूहले सहमति कार्यान्वयन गर्दै थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई छाड्न सरकारसँग आग्रह गरेको हो ।

सामान्य मुद्दाका छुटे, गम्भीर घटनाका बाँकी

हाल विप्लव समूहको दलका केन्द्रीय कमिटी सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन), चुडामणी ओली (आदर्श) र रणवीर थुनामा नै छन् । उनीहरूसहित १ सय २५ बढी नेता कार्यकर्ता थुनामा छन् ।

विप्लव समूहका नेता प्रकाण्डले प्रधानमन्त्रीलाई सहमति कार्यान्वयन गर्न १० दिनको समय दिँदै ध्यानाकर्षण गराइएको जानकारी दिए ।

‘सहमति कार्यान्वयनमा सरकारबाट चासो देखाइएन, हामीले सरकारलाई सहमतिको पालनामा प्रतिबद्ध रहन आग्रह गर्दै १० दिनको समय दिएका छौं,’ विप्लव समूहका नेता प्रकाण्डले भने ।

प्रधानमन्त्री ओलीले समेत सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको जवाफ दिएको प्रकाण्डले भनेका छन् । उनका अनुसार प्रधानमन्त्री ओलीले सहमति कार्यान्वयनको विषयमा पहल गर्न तत्कालीन वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई निर्देशनसमेत दिएका छन् ।

यसैगरी, नेता बास्तोलाले प्रधानमन्त्रीले केही जटिलताका कुरा गरेको तर त्यसलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकाले आफूहरू आशावादी रहेको बताए ।

‘प्रधानमन्त्रीले केही जटिलताका कुरा गर्नुभयो तर त्यसलाई समाधान गर्ने प्रतिबद्धता पनि उहाँबाट आयो, हामीले छिटो समाधान खोज्नुस् भन्यौं,’ नेता बाँस्तोलाले राजधानीसँग भने ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले सामान्य प्रकृतिका अर्थात् जघन्य प्रकृतिबाहेकका घटनामा संलग्न रहेका विप्लव समूहका नेता कार्यकर्ता छुटेको तर अदालतमा मुद्दा चल्दै गरेका र पुर्पक्षमा पठाइएका भने छुट्न बाँकी रहेको जानकारी दिए । उनका अनुसार १ सय २५ जना बढी नेताकार्यकर्ता छुट्न बाँकी छन् ।

‘सामान्य प्रकृतिका घटनामा संलग्न रहेका छुटिसकेका छन्, जघन्य प्रकृति घटनामा संलग्न रहेका र अदालतमा मुद्दा चल्दै गरेका तथा पुर्पक्षमा पठाइएका भने छुट्न बाँकी छन्,’ नेपाल प्रहरीका प्रवक्ता कुँवरले राजधानीसँग भने ।

उनले प्रहरी अनुसन्धानकै क्रममा रहेका कतिपय विप्लव समूहका नेताकार्यकर्ता सरकारसँगको सहमतिपछि छुटेको जानकारी दिएका हुन् । राजधानी दैनिकबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार