लामो कार्य समयका कारण वर्षेनी साढे ७ लाख मानिसको मृ*त्यु ः डब्ल्यूएचओ

लामो कार्य समयका कारण वर्षेनी लाखौं मानिसहरुको मरिरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यस्तो बताएको हो ।

संगठनका अनुसार सन् २०१६ मा लामो समय काम गर्दा उत्पन्न स्ट्रोक र मुटुको रोगका कारण ७ लाख ४५ हजार जनाको मृत्यु भएको छ ।

यो यस्तो खालको पहिलो विश्वव्यापी सर्वेक्षण हो । दक्षिण पूर्वी एशिया र पश्चिम प्रशान्त क्षेत्रमा बसोबास गर्ने मानिसहरु सबैभन्दा प्रभावित भएको प्रतिवेदनले देखाएको छ ।

कोरोना भाइरसको महामारीका कारण यो प्रवृत्ति झनै खराब बनेको हुन सक्ने संगठनको भनाइ छ ।

हप्तामा ३५ देखि ४० घन्टा काम गर्दाभन्दा ५५ घन्टा वा सोभन्दा धेरै समय काम गर्दा स्ट्रोकको जोखिम ३५ प्रतिशतले बढ्ने अनुसन्धानले देखाएको छ ।

यसका कारण मुटुसम्बन्धी रोग लागेर मर्ने जोखिम पनि १७ प्रतिशतले बढ्ने बताइएको छ ।

अध्ययन अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा गरिएको थियो । धेरै काम गरेको कारण मर्नेमध्ये करीब तीन चौथाई अधवैंशे वा सोभन्दा बढी उमेरका पुरुष रहेको पनि अध्ययनले देखाएको छ ।

लामो समय काम गरेको प्रभावले मृत्यु धेरै ढिला अर्थात् दशकौं पछि हुने पनि देखिएको छ । अध्ययनमा महामारीको अवधि समावेश गरिएको छैन ।

रिमोट वर्किङ र आर्थिक मन्दीका कारण पनि लामो समय कार्य समयसम्बन्धी समस्या बढेको हुन सक्ने डब्ल्यूएचओका अधिकारीहरुले बताएका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार