
सामान ढुवानीमा प्रयोग हुने टिपर तथा बिरामी बोक्ने एम्बुलेन्स रसुवागढी नाकाबाट आयात भएका छन् । आयातको परिमाण २० ठूला टिपर एवं एक एम्बुलेन्स रहेका छन् । ती सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यही असार १ गतेदेखि १५ दिनको अवधिमा उक्त सवारी साधन पासाङ ल्हामु राजमार्ग हुँदै पर्साको वीरगन्जतर्फ प्रस्थान भएका बताइएको छ । सवारी साधनका अलावा फलफूल स्याउ, निर्माणाधीन विद्युत् आयोजनाका उपकरण, ओखर, लसुन, जुत्ता चप्पल, तयारी पोशाक, अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री रहेका छन् ।
आयात भएका सामग्री बोक्ने मालवाहक सवारी साधन नियमितरूपमा राजधानी काठमाडौँतर्फ प्रस्थान गरिरहेका छन् । अनिवार्य मास्क लगाउन र एक सहयोगीबाहेक अन्य व्यक्ति नराख्न चालकलाई बारम्बार आग्रह गरिएको प्रहरीले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै पासाङ ल्हामु राजमार्गमा गुड्ने सानाठूला सबै प्रकारका सवारी साधनमा ठाउँ ठाउँको जाँच परीक्षणमा भने शून्यता छाएको छ ।
अवैध चिजवस्तु ओसारपसार नियन्त्रण एवं सुरक्षा प्रदानका लागि सडक मार्गमा तैनाथ गरिएका सुरक्षा अङ्गले कोरोनाको त्रास बढेपछि परैबाट गाडी नम्बर टिपाइ छाड्ने गरेका छन् । चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनर भन्सार कार्यालयबाट सिलबन्दी भई आउने र अन्य सवारी साधनको हकमा जरूरी कामको प्रकृति हेरी कोभिड नियन्त्रण व्यवस्थापन समितिको अनुमतिमा मात्र गुड्ने भएकाले गैरकानूनी क्रियाकलापको आशङ्का गर्ने ठाउँ नरहेको प्रहरीले जनाएको छ ।
कोभिडको जोखिमलाई मध्यनजर राखी प्रहरीको रेखदेखमा स्वास्थ्य मापदण्ड पूरा गरेका चालक तथा कामदार मात्र रसुवागढी नाकामा जान पाउने र सीमा क्षेत्रमै एकीकृत रूपको परीक्षण गर्ने व्यवस्था गरिएकाले अन्य क्षेत्रमा थप परीक्षण गर्न आवश्यक नरहेको सुरक्षा निकायले बताएको छ ।
सवारी चालकलाई सास्ती
सडक विस्तारका क्रममा खनिएका ढुङ्गा, माटो व्यवस्थापन हुन नसक्दा मालबाहक कन्टेनर गुडाउन असहज भएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु सडक विस्तार आयोजनाले राजमार्ग विस्तार गर्ने क्रममा स्याफ्रुबेँसीको भोटेकोशी पुल नजिक खनेको ढुङ्गा माटो व्यवस्थापन नगर्दा सवारी साधन गुडाउन असहज भएको हो ।
साविकको कालो पत्रसमेत आयोजनाले भत्काइ खुकुलो माटोले पुरेको र वर्षाको भलबाढीले मालबाहक सवारी साधन गुडाउन असहज हुनाका साथै टायरसमेत फुट्ने समस्या बढ्न थालेको हो।
नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने एक मात्र उत्तरी नाका रसुवागढीलाई व्यवस्थित बनाउनुपर्नेमा सडक विस्तार आयोजनाले यही असार १ गतेबाटै वर्षाको असर देखाइ सुधारका सबै कार्य स्थगन गरी हिँडेका कारण सडक सतहमा अनियन्त्रित रूपले आउने ढुङ्गा तथा गेगरको अवरोधले सवारी साधन गुडाउन असहज भएको चालक बताउँछन् ।
सवारी चालक छेवाङ सोनाम तमाङका अनुसार डेढ महिना कुरेपछि रु ८२ हजार भाडामा सामान बोक्ने पालो आउने र स्याफ्रु बेँसीको भोटेकोशी पुल नजिक विस्तार गर्न लागिएको सडकमा पुग्दा टायर फुट्ने समस्या बढेको हो ।
सडक सतहमा दिनहुँ आउने हिलो एवं ससाना डल्ला ढुङ्गाको अवरोधले मालवाहक डिब्बा पार लगाउन डोजरद्वारा तान्नुपर्ने अवस्थामा टायरको अलावा थुप्रै पार्ट पुर्जासमेत भाँच्चिने समस्या बढेको चालकको गुनासो छ ।
राज्यको राजश्व आर्जन गर्ने सडकमार्ग सहज पार्न पटकपटक आग्रह गरिए पनि सडक प्राविधिक गम्भीर नहुँदा पासाङ ल्हामु मार्ग दुरवस्था हुँदै गएको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए ।
वर्षायाम शुरू भएसँगै मूलखर्क, धुन्चेको त्रिशूली खोला, भार्खुडाँडा, सानोभार्खु खोला क्षेत्रमा समेत मालबाहक सवारी साधन गुडाउन असहज हुँदै गएको अध्यक्ष अमात्यले जानकारी दिए ।
असार १ गतेयता सडक मार्गमा भारी वर्षाले आएका २५ भन्दा बढी स्थानका अवरोध सुरक्षा अङ्गको जनशक्तिले हटाइसकेको छ ।
सडक भत्किएपछि स्रोत साधन भएको सडकका जिम्मेवार प्राविधिक नुवाकोटको विदुरमा बस्ने र आकस्मिक अवरोध हटाउने नाममा यहाँका सुरक्षा अङ्गले मात्र पिक सावेल बोकेर निरन्तर सडकमा खट्नुपर्ने समस्या बढिरहेको बताइन्छ । रासस